कर्णेल फर्कनासाथ फौजी कारवाही

कर्णेल फर्कनासाथ फौजी कारवाही

फेरि लेफ्टिनेन्ट कर्णेल दर्जाका अर्का सैनिक कमाण्डर विदेशबाट ओर्लनासाथ कारवाहीमा पर्ने भएका छन् । पत्नी जर्मनमा, तर सैनिक सेवाकै महिलालाई सानो छोरा स्याहारका नाममा आफ्नै सुसारका निम्ति गणपतिको ‘बंगला’मा लैजानेसहितका काण्ड मच्चाएको आरोप ती हाकिममाथि लागेको छ ।

शान्ति मिशनअन्तर्गत लेबनानबाट फर्कन लागेको बर्दबहादुर गणका कमाण्डर राजीव थापा त्यस्तो झमेलामा पर्न लागेका हुन् । उनी सिन्धुलीमा हुँदा गरेको विभिन्न अनियमिततासम्बन्धी उजुरीउपर कोर्ट अफ इन्क्वायरी थाल्ने जंगी अड्डाको तयारी छ । ब्रिगेडियर सुशील भण्डारीलाई यसको जिम्मेवारी दिइसकिएको छ ।

उजुरीमा उल्लेखित उनका अनियमितता पुष्टि भइसकेको सैनिकस्रोतले जनाएको छ । हाल सिन्धुलीका गणपति विजय थापाले उनका कमजोरी पुष्टि हुनेगरी लेखेर पठाएका छन् । राजीवले स्वीकृतिबिना ब्यारेकको काठ काटेर बेचेको पनि आरोप छ । भण्डारी थरकी सिपाहीलाई ३–४ बर्षको छोरो स्याहार्न ‘बंगला’ लैजाने गरेको पनि भनिएको छ ।

उनकी पत्नीचाहिँ केही वर्षदेखि जर्मनमा बस्दै आएकी छन् । ती महिला सिपाहीलाई मिलाएर अहिले काठमाडौंस्थित टुमु कोतखाना (पुरानो हतियार राख्ने ठाँउ) मा खटाइएको बताइन्छ । उजुरीमा विवादास्पद व्यक्तिलाई व्यारेकका कामहरुको ठेक्का दिएको अर्को आरोप छ ।

सशस्त्र द्वन्द्वकालताका ज्यानमारा केसमा परी भागेका ६ फीटे सन्तोष बुढाथोकीलाई ब्यारेकको केही काम जिम्मा लगाएको अर्को उजुरी । बुढाथोकी अहिले सिन्धुलीस्थित चियाबारीमा भट्टी चलाउँछन् । काम सिपाहीले गर्ने, ठेक्का बुढाथोकीले पाउने भनिएको छ ।

उनी सैनिक सचिव विभागमा कार्यरत रहँदा विनयविक्रम राणासँग मिलेर शान्ति सेनामा रोजेका अफिसर र महिला पठाउने गरेको र अरु जर्नेलको जासुसी गरेको पनि उजुरीमा उल्लेख छ । कारबाहीमा परिने भएपछि ‘बरु राजीनामा दिन्छु, जागिर जोगाइदेऊ’ भन्न थालेका छन् ।

अर्कातिर, पूर्णचन्द्र थापा प्रधानसेनापति रहँदाका शक्तिशाली दुईतारे जर्नेल अनन्त कार्की म्याद थपका निम्ति दौडधुपमा छन् । उनी शेरबहादुर देउवा प्रधानमन्त्री भएकै बेला एक कार्यकाल एडिसी थिए । अहिले त्यही नाता लगाउँदै छन् । यसअघि भक्तपुरे गाउँले नाता लगाउँदै महेश बस्नेतमार्फत केपी ओलीकहाँ पुगेका थिए ।

दुईपटक लगाएर नेपालीमा स्टाफ कलेज गरेका कार्कीलाई केही वर्षअघि ओखलढुंगामा गण कमाण्ड गर्दा ‘केटाहरु’ ले झण्डै मण्डी परेड गरेका थिए । कार्कीमाथि सुडानमा अब्जर्भर बस्दा काम गर्न नसकेर बिनाखबर फर्केको आरोप लगाइएको छ । उनलाई तत्कालिन सेक्टर कमाण्डर रमेश पुनले नेपाली भएको कारण जोगाइदिएका थिए ।

द्वन्द्वताका पनि जुम्लाको गुल्मबाट ५ सय ४० राउण्ड एटिवन मोर्टार हानेर गाउँ ध्वस्त बनाएको आरोप लाग्ने गरेको छ । त्यसबेला उनलाई जर्नेल सदीपबहादुर शाहले जोगाइदिएका थिए । इमामनगर, नेपालगञ्जस्थित ४ बाहिनीमा हुँदा मुस्लिम सिपाहीलाई जवर्जस्ती सुँगुरको मासु खुवाउन लाग्दा उनीविरुद्ध उजुरी परेको थियो ।

उनले त्यहीँकै एक महिला सैनिकलाई कंगो पठाएका थिए । ती महिला मिशनबाट फर्केपछि जिल्ला जानुपर्नेमा उपत्यकाभित्रै राख्ने काम पनि उनैले गरे । सैनिक प्रहरी गणमा राखिएकी ती महिलाले अनेक पोल लाएर गणपति इमेशमेहर श्रेष्ठलाई १८ बाहिनी, उदयपुरतिर धपाइदिएकी थिइन् ।

माओवादी नेता दिनानाथ शर्मासमेत साझेदार रहेको सिद्धार्थ होटेलको चेनलाई जंगी अड्डाभित्र यिनैले छिराएका छन् । त्यसले भूकम्पले जंगी अड्डा ढाल्दा राजेन्द्र क्षेत्रीले कार्यालय सम्हालेको आर्मी अफिसर्स क्लब छेउमा खानपिनको ब्यवस्थापन गर्छ । नेपालगञ्ज, भालुबाङ, कुरिनटारसहित जहाँ गए पनि त्यही होटलले उनको खातिरदारी गर्छ ।

छोरा लागुऔषध मुद्दामा जेल परेका थिए, तीन महिना भयो निकालेको । कतिसम्म अनुशासनहीन भने इटहरीमा पृतनापति हुँदा मुख्यमन्त्रीसामु उपरखुट्टी लाएर चुरोट तान्ने यिनी बेलाबखत जंगी अड्डाभित्र तल चुस्ता, माथि गञ्जी लाएर बसिरहेको अवस्थामा भेटिने गर्दछन् । जनआस्थासँग त्यस्तो अवस्थाको फोटो सुरक्षित छ ।

टिप्पणीहरू