राप्रपा अध्यक्ष लिङ्देनको करोडौंको काण्ड
पछिल्लो समय दमदार भाषण र वाककलाका कारण राष्ट्रिय राजनीतिमा चर्चामा रहेका नेता राजेन्द्र लिङ्देनमाथि सर्वसाधारणको करोडौं मूल्यको जग्गा बलजफ्ती हडपेको आरोप लागेको छ ।
स्वच्छ छबि र इमान्दार नेताका रुपमा आफूलाई चिनाएका र भ्रष्टाचार गर्नु आमाको रगत खानु जस्तै हो भनेर कुर्लने भर्खरै कमल थापालाई पराजित गरेर चर्चित राप्रपा अध्यक्ष लिङ्देनमाथि झापाको अर्जुनधारा नगरपालिकाको पूर्वपश्चिम राजमार्ग क्षेत्रमा रहेको करिब १० करोड मूल्यको एक बिगाहा तीन कठ्ठा जग्गा कब्जा गरेको आरोप लागेको हो ।
अहिले उनी बसिरहेको घर भएको जग्गा त्यही आरोप लागेको ठाउँ हो । जहाँ उनले घर बनाएर कम्पाउन्डले घेरेका छन् । गत निर्वाचनमा एमाले नेता केपी ओलीसँग चुनावी तालमेल गरेर झापा ३, बाट काँग्रेसका नेता कृष्ण सिटौलालाई पराजित गर्दै राप्रपाबाट प्रतिनिधिसभा सदस्य बनेका लिङ्देन सदन र सार्वजनिक स्थानमा गर्ने भाषण र प्रस्तुतीका कारण राष्ट्रिय राजनीतिमा चर्चामा आएका थिए । पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता कमल थापालाई पराजित गरेसँगै उनको राजनीतिक उचाईसँगै चर्चासमेत थप चुलिएको छ ।
भ्रष्टाचार , अपराध, विकृति र विंसगतिको बिरोधमा चर्का भाषण गर्ने गरेका उनी फरक विचारका नेता भए पनि आमनागरिकले रुचाएका नेतामा पर्दछन् । पार्टी अध्यक्ष भएलगत्तै केहि दिनअघि भएको काँग्रेस महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा जनताले नेतालाई चोर भनेको र नेता बिग्रिएको भनेर दिएको अभिव्यक्तिका कारण उनी यतिबेला चर्चाको शिखरमा छन् ।
‘बुबाले वर्षौ जोतभोग गरेको जमिन गुमाउँदा पीडाका कारण मानसिक सन्तुलन गुमाएको र तनावकै कारण बुबाको मृत्यु भएको गम्भिर आरोप लगाए ।’
भ्रष्टाचार र अपराध गर्नु आमाको रगत चुस्नुसरह भएको भनेर पटक पटक भाषण गर्ने गरेका तिनै लिङदेनमाथि झापाको एक निम्नवर्गीय परिवारले आफ्नो जग्गा कब्जा गरेर अन्याय गर्दै बिचल्ली बनाएको आरोप लगाएको छ । सत्ता,शक्ति र बलको प्रयोग गरेर लिङदेनले कानुनी रुपमा आफ्नो परिवारको नाममा भएको जग्गा बलजफ्ती कब्जा गरेको उक्त परिवारको दाबी छ ।
२०२५ सालदेखि आफ्नो परिवारले जोतभोग गर्दै आएको र आफ्नै नाममा दर्ता कायम रहेको जग्गा जालसाजी गरी अर्काको नाममा दर्ता गराउने कार्य भूपू प्रधानपञ्च गोविन्द बस्नेतकी श्रीमती विष्णुकुमारी बस्नेतको नामबाट लिङदेनले आफ्नो नाममा लगेर अन्याय गरेको पीडित परिवारकी ज्येष्ठ सदस्य ८० वर्षीया खिनमाया कट्टेलले आरोप लगाएकी छन् । उनले आफ्ना श्रीमान गजाधर कट्टेलको नाममा दर्ता कायम रहेको जग्गा जालसाजीपूर्वक भूपू प्रधानपन्च बस्नेत र लिङ्देन मिलेर हडपेको दाबी गरेकी हुन् ।
उनले बस्नेतसँग जग्गाको विवाद रहेको जानकारी रहेकै समयमा लिङ्देनले जग्गा आफ्नो नाममा लगेर बलजफ्ती संरचना बनाएर कट्टेल परिवारको बचल्ली बनाएको उनले दाबी गरेकी छन् । आफ्नो परिवारसँग सो जग्गाको धनीपुर्जा र अन्य कागजात रहेको, जोतभोग पनि गर्दै आएको समयमा नेता लिङ्देनले जग्गा कब्जा गरेर आफ्नो परिवारको उठिबास लगाएको आरोप लगाएकी हुन् । पटक पटक अनुरोध गर्दा पनि लिङ्देनले आफ्नो परिवारमाथि न्याय गर्नुको सट्टा थप पीडा मात्रै दिएको उनले दुःखेसो समेत पोखेकी छन् ।
उनका छोरा डिल्लीराम कट्टेलले बस्नेतले जालसाजी गरी आफू सत्तामा रहेको समयमा आफ्नो परिवारको भोगाधिकार रहेको जग्गा अर्को गाउँपालिकाबाट दर्ता गराएको र त्यहि किर्ते कागजातका भरमा लिङ्देनलाई दिन लागेको सूचना पाएपछि आफूले जानकारी गराउँदासमेत लिङ्देनले न्याय गर्नुको साटो आफ्नो नाममा लगेर जग्गा हडपेको दाबी गरेका छन् ।
उनले सबै कुरा थाहा पाउँदासमेत लिङ्देनले जग्गा सारेर आफू समर्थित समूहको बलप्रयोग गरी हडपेको बताएका छन् । उनले लिङ्देनलाई आफू र आफ्नो परिवारले पटक पटक अन्यायमा परेको भनेर न्यायका लागि भीख माग्दासमेत सुनुवाई र सहयोग गर्नुको साटो आफू समर्थित युवा प्रयोग गरेर आफ्नो परिवारले जोतभोक गरेर जीविकोपार्जन गर्दै आएको जग्गा कब्जा गरेको बताएका छन् ।
लिङ्देनले जग्गा कब्जा गर्ने क्रममा खटाएका मान्छेको समूहले बुबामाथि हातपात र आक्रमण गरेको दाबीसमेत गरेका छन् । आफ्ना बुबाले वर्षौं जोतभोग गरेको जमिन गुमाउँदा पीडाका कारण मानसिक सन्तुलन गुमाएको र तनावकै कारण बुबाको मृत्यु भएको गम्भिर आरोप पनि लगाइएको छ ।
आफू र परिवारले पटक पटक न्यायका लागि अनुरोध गर्दा बेवास्ता गर्दै बुबामाथि नै खनजोत गरिरहेको समयमा आक्रमण भएपछि कानुनी सहायताका लागि अदालत पुगेको समेत सुनाएका छन् । अदालतमा मुद्दा परेपछि पनि अदालतको आदेश विपरीत लिङ्देनले जग्गा कब्जा गर्नुपर्ने काम र संरचना बनाएको दाबी समेत गरेका छन् । लिङ्देनका विषयमा अदालतमा परेको मुद्दा समेत फैसलामा ढिलाई भएपछि कट्टेल परिवारको बिजोग भएको हो । आफ्नो स्वामित्वमा रहेको जग्गामा न त कट्टेल परिवारले खनजोत गर्न पाएको छ, न त बिक्री गरेर अन्य काम गर्न नै सकेको छ ।
आफ्नो परिवारको नाममा रहेको सम्पत्ति नै हडपेको आरोप खेपिरहेका लिङ्देनसँग अहिले पनि सो परिवारका सदस्यले न्यायको भीख मागिरहेका छन् । तर देशका नागरिकलाई न्याय दिने, विकृति , विसंगति, भ्रष्टाचारको समूल अन्त्य गर्ने र नयाँ मुलुक बनाउने शंखघोष गरिरहेका नेता लिङ्देनमाथि लागेको यो आरोपले उनलाई समेत गिज्याइरहेको बताइन्छ ।
जग्गा विवादका विषयमा कट्टेल परिवारका अर्का छोरा त्रिलोचन कट्टेलले न्यायका लागि सहयोग गर्न अपिल गरेका छन् । एउटा निम्नवर्गीय परिवारमाथि धनको लोभले न्याय गर्न नसकेका लिङ्देनले आमनागरिक र मुलुकमाथि कसरी न्याय गर्छन् भनेर स्थानीयले प्रश्न उठाउन थालेको भए पनि सत्ता, शक्ति र राजनीतिमा उनको प्रभावका कारण यो विषय सार्वजनिक हुन सकेको थिएन । कट्टेल परिवारका सदस्यले न्याय खोज्दै आफूसँग भएका कागजात बोकेर नेताका घरदैलो चहार्न थालेको पनि करिब ८ वर्ष भइसकेको छ । आफ्नो जोगाधिकार कायम रहेको, पुर्जासमेत आफ्नो नाममा रहेको जग्गा पाउन संघर्ष गरिरहेका कट्टेलमाथि नेता लिङ्देनले गरेको अन्यायले कुन रुप लिने हो त्यो भने हेर्न बाँकी छ ।
टिप्पणीहरू