नगरपालिकाको प्याडमा राजनीतिक बधाई
नेपाली काँग्रेसको हालै सम्पन्न १४ औं महाधिवेशनमा निर्वाचित एक जना महिला केन्द्रीय सदस्यलाई नगरपालिकाका प्रशासकीय अधिकृतले नगरपालिकाको लेटर प्याडमा लेखेर बधाई दिएका छन् । आफ्नै नगरपालिकाकी मेयरलाई भेटेर बधाई दिए पनि उनले पुस ९ गतेको मितिमा पत्र संख्या समेत उल्लेख गरेर दिइएको बधाईलाई स्थानीय र कर्मचारीले ‘चाकडी’ को संज्ञा दिएका छन् ।
राजनीतिक स्वार्थको निम्ति लेखिएका यस्ता पत्रले सरकारी कागजातको दुरुपयोग भएको बताइन्छ । जुम्लास्थित चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवाललाई काँग्रेसको केन्द्रीय सदस्य बनेको उपलक्ष्यमा प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढ्थापाले सरकारी पत्रको दुरुपयोग गर्दै बधाई दिएका हुन् ।
बधाईमा उनले लेखेका छन, ‘नेपालको पहिलो महिला मेयरको छबि बनाई सकेकी चन्दननाथ नगरपालिका जुम्लाको नगर प्रमुख, नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा जुम्ला जिल्लाबाट नेपाली काँग्रेस पार्टीको पहिलो निर्वाचित केन्द्रीय सदस्य जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा सम्पूर्ण नगरपालिका परिवार हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।’
नगरपालिकाको वेबसाइटमा बुढ्थापालाई निमित्त प्रशासकीय अधिकृत भनिएको छ । तर, उनले बधाई दिएको पत्रको पुछारमा निमित्त हटाइएको छ । प्रशासनिक भाषामा निमित्त भनेको उक्त पदका आधिकारिक व्यक्ति बहाल नभएकाले काम चलाउको अधिकार दिइएको अर्को व्यक्ति हो । प्रशासकीय अधिकृत आउने बितिक्कै उनको निमित्तको जिम्मेवारी खोसिने भएकाले त्यसरी प्रमुख प्रशासकीय अधिकृत भनेर समेत लेख्न नमिल्ने बताइन्छ ।
टिप्पणीहरू