नेपालबाट हराएको छैन धनेश

नेपालबाट हराएको छैन धनेश

नेपालमा नपाइने भनिएको धनेश चरा भेटिएको छ । अनुसन्धानबिना नेपालबाटै लोप भइसकेको भनिएको धनेश फोटोमा सिमित थियो ।

काँकडभिट्टाका वाइल्ड लाइफ फोटोग्राफर देवेन खरेलले इलामको सूर्योदय नगरपालिका–१,गोर्खेस्थित सिमधापमा हालै धनेशको फोटो कैद गरेपछि उक्त चरा नेपालबाट लोप नभइसकेको पुष्टि भएको हो ।

नेपालमा नै फोटो कैद हुनुले नेपालबाट धनेश लोप नभएको पुष्टि भएको पंक्षीका खोजकर्ता खरेलले बताएका छन् । ‘चरा अध्ययनको क्रममा मैले अहिलेसम्म हासिल गरेको यो दोस्रो उपलब्धि हो,’ खरेलले भने,‘जीव विज्ञान तथा पंक्षीको अध्ययन गर्नेहरूको लागि यो ठूलो कुरा हो ।’

खरेलले धनेश भेटिएको क्षेत्रलाई संरक्षण र खोज अनुसन्धानको केन्द्र बनाउन सकिने सुझाव दिएका छन् ।

धनेश नेपालमा पहिलो पटक सन् १८२९ मा भेटिएको थियो । त्यसपछि सन् १८५० मा नेपालबाटै संकलन गरिएको त्यसको अवशेष बेल्जियममा संग्रहित गरिएको बताइन्छ । खरेलले आफूले भेटेको धनेश रैथाने हुनसक्ने बताउँछन् ।

नेपालमा डेढ सय वर्षयता उक्त चरा देखिएको थिएन । लामो समयदेखि नेपालमा नदेखिएपछि सन १९८५ पछि नेपालबाट धनेश हराएको अनुमान गर्न थालिएको हो । विज्ञहरूको अनुसन्धानबिना नै सन् २०२० आइयुसीएनको चरासम्बन्धी अभिलेखमा धनेश नेपालबाट लोप भइसकेको उल्लेख गरिएको जैविक विविधताका अध्येता कमल मादेनले जानकारी दिनुभयो ।

टिप्पणीहरू