वकिलहरू भुईंबाट झ्यालमा
प्रधानन्यायाधीशविरुद्धको आन्दोलनले औचित्य स्थापित गर्न नसक्दा नेपाल बार एशोसिएसनलाई आफ्नै निर्णय प्रत्युत्पादक बनेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको बहिर्गमनलाई बटमलाइन बनाएर झण्डै साढे दुई महिनादेखिको आन्दोलनले परिणाम नदिँदा बारका लागि सडकमा ओर्लने आफ्नै निर्णय अहिले ‘निल्नु न ओकल्नु’ भएको छ । पछिल्ला दिनमा आन्दोलनको राप, ताप र सहभागिता मात्र घटेको छैन, औपचारिकतामा मात्रै सीमित हुन थालेको छ ।
न्यायालय सुधारको अभियानका रुपमा शुरु भएको आन्दोलनले प्रारम्भिक दिनमा चौतर्फी समर्थन बटुलेको थियो । सर्वोच्चका अधिकांश न्यायाधीशसहित सिंगो कानुन व्यवसायीहरुको दर्बिलो साथ पाएको बारले सोहीअनुसार चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।
तर, व्यक्ति केन्द्रित आन्दोलनमा जोड दिएको भन्दै न्यायाधीश र अधिकांश कानुन व्यवसायीहरुले साथ छाडेपछि बारको आन्दोलन पछिल्ला दिनमा सुस्ताएको छ । कुनै बेला सयौँको संख्यामा वकिलहरू भेला भएर सर्वोच्च परिसरमा धर्ना दिने गरेको बार नेतृत्वलाई अहिले दुई–चार जना जम्मा पार्न पनि हम्मे पर्न थालेको छ ।
महिनौँसम्म हातमा कालोपट्टि बाँधेर ठूला ब्यानरसहित सर्वोच्चको दैलोमा धर्ना बस्ने नेपाल बार अहिले झ्यालमा ब्यानर टाँसेर औपचारिकता निभाउनुपर्ने अवस्थामा पुगेको छ । निष्कर्षहीन आन्दोलनले समस्याको समाधान दिन नसक्ने भएकाले आन्दोलन तुहिने अवस्थामा पुगेकोे केही कानुन व्यवसायीहरु बताउँछन् ।
‘बारले कि आन्दोलनको औचित्य देखाउनुपर्यो, होइन भने यो दुई महिनामा सेवाग्राहीले व्यहोर्नुपरेको दुःखको जिम्मेवारी लिनुपर्यो’, एक वकिलले भने । उनका अनुसार बार नेतृत्वले आन्दोलनलाई व्यक्ति लक्षित बनाउनुको परिणाम अहिलेको अवस्था निम्तिएको हो ।
त्यसो त, बारले अहिलेसम्म पनि औपचारिक रुपमा आन्दोलन फिर्ता लिएको छैन । तर, आन्दोलनबाटै प्रधानन्यायाधीशको राजीनामा गराउने आत्मविश्वास भने गुमाउँदै गएको देखिन्छ । जति आन्दोलन गर्दा पनि प्रधानन्यायाधीशको राजीनामा नआउने, राजनीतिक दलहरुको विश्वास जित्न नसक्ने अवस्थाबीच आन्दोलनले ‘माखो मार्न नसकेको’ स्वयं बारकै पदाधिकारीहरु स्वीकार्न थालेका छन् ।
‘प्रधानन्यायाधीशको बाटो छेक्नेसम्मको अवस्थाबाट आन्दोलन अब झ्यालमा पुग्यो’, बार भवनको माथि टाँगिएको ब्यानरतर्फ व्यङ्ग्य गर्दै एक जना वकिल भन्छन् ।
टिप्पणीहरू