पहिले ढालियो, अहिले ठड्याइयो
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको स्व.राजा वीरेन्द्रको शालिक १६ वर्षपछि पुनः ठड्याइएको छ । डेढ दशकअघिको जनआन्दोलनमा आन्दोलनकारीले ढालेको स्वर्गीय राजा वीरेन्द्रको शालिक आज त्यहि ठाउँमा राखिएको हो ।
स्वतन्त्र सुर्खेतीवासी जनता समूहले गोरक्ष पिठाधीश योगी बलभद्रको अगुवाइमा राजा वीरेन्द्रको शालिक पुनस्थापना गरेको हो । राजा वीरेन्द्रको शालिक राख्ने विषयमा लामो समयदेखि विवाद हुँदै आएको थियो ।
सुर्खेतको वीरेन्द्रनगर बजार क्षेत्रको गुरुयोजना राजा वीरेन्द्रले नै बनाउन लगाएकाले उहाँको शालिक राख्नुपरेको पिठाधीश बलभद्रले बताएका छन् ।
वीरेन्द्र २०२३ सालमा सुर्खेत भ्रमणमा जाँदा त्यहाँको उपत्यका मन पराएकाले २०२९ सालमा शहरी योजनाविद् माधवभक्त माथेमाले नगरको गुरुयोजना बनाएका थिए । स्वर्गीय राजाको शालिकसहित बीचबजारको चोकलाई वीरेन्द्रचोक नामाकरण गरिएको थियो ।
यसअघि भत्काइएको शालिक भारतको जयपुरमा बनाएर २०४३ सालमा ठड्याइएको थियो । दुई दशकपछि २०६३ सालमा आन्दोलनकारीले ध्वस्त बनाएका हुन् ।
टिप्पणीहरू