नयाँ खोपले ओमिक्रोन संक्रमण रोक्ने भारतीय दाबी
कोभिड महामारीको तेस्रो लहर ल्याउन सक्ने भनिएको ओमिक्रोन भेरिएण्टको संक्रमणलाई एक हदसम्म रोक्ने भन्दै भारतले कोभिड विरुद्धका दुई नयाँ खोपलाई अनुमति दिएको छ ।
सिरम इन्स्टिच्युट अफ इन्डियाद्वारा निर्मित कोभोभ्याक्स र बायोलोजिकल इले बनाएको कोर्बेभ्याक्सलाई आपत्कालीन अवस्थामा नियन्त्रित प्रयोगका लागि अनुमति दिइएको हो ।
यीसहित भारतले हालसम्म आठ प्रकारका कोभिड विरुद्धको खोपलाई अनुमति दिएको छ । जसमध्ये तीन वटा भारतमा उत्पादित हुन् ।
भारतले अहिलेसम्म आफ्ना नागरिकलाई एक अर्ब ४० करोड मात्रा कोभिड खोप लगाएको छ । भारत सरकारले यो वर्षको अन्त्यसम्म सबै नागरिकलाई खोप दिइसक्ने लक्ष्य लिएको छ, तर त्यो सम्भव देखिएको छैन । अब यो वर्षको निम्ति जम्मा दुई दिन मात्रै बाँकी छ ।
भारतमा हालसम्म ६२ प्रतिशत खोप लिन योग्य नागरिकले मात्रै पूर्णमात्रा खोप लगाएका छन् । ९० प्रतिशतभन्दा बढीले कम्तीमा एक मात्रा खोप पाएका छन् ।
टिप्पणीहरू