माओवादीमा पनि उमेर हद लागू गर्न सुझाव

माओवादीमा पनि उमेर हद लागू गर्न सुझाव

नेकपा (माओवादी केन्द्र) को जारी महाधिवेशनमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सुझाव दिने क्रम शुरु भएको छ । २५ वटा समूह बनाएर प्रतिवेदनमाथि दुई दिनसम्म भएको समूहगत छलफलको निश्कर्ष सुनाउँदै टोली नेताहरुले अहिले आ–आफ्ना समूहका सुझाव पेश गरिरहेका छन् ।

अहिलेसम्म सुझाव दिने अधिकांश टोली नेताले अध्यक्षको प्रतिवेदन मुलभूत रुपमा ठीक भए पनि त्यसको व्यवहारिक कार्यान्वयनको सुनिश्चितता हुने गरि कार्यक्रम बनाउनुपर्नेमा जोड दिएका छन् ।

विचार र व्यवहारमा एकरुपता हुनुपर्ने, पार्टीले राजनीतिक उपलब्धिहरुको स्वामित्व लिएर संस्थागत पहल गर्नुपर्ने, जनयुद्धका घाइते, अपाङ्गहरुको उचित व्यवस्थापन गर्नुपर्ने जस्ता सुझाव पनि आएका छन् ।

त्यस्तै, २०६२ पछि भएका मधेस आन्दोलनको समीक्षा, नागरिक आन्दोलनलाई समेत सम्बोधन गर्दै संविधान संशोधनका लागि पहल गर्नुपर्ने बताएका छन् । केही टोली नेताले पार्टीका जिम्मेवारी र शासकीय पदहरुको न्यायोचित वितरण नहुँदा इमान्दार कार्यकर्ता अवसरबाट वञ्चित भएकोमा नेतृत्वको ध्यानाकर्षणसमेत गराएका छन् ।

बन्दसत्रमा केही टोली नेताले नेतृत्वमा उमेर हदको व्यवस्था लागू गर्न समेत सुझाव दिएका छन् । नेतृत्वमा कति कार्यकाल दोहोरिने हो त्यसको प्रष्ट व्यवस्था हुनुपर्ने र उमेर हद तोक्नुपर्नेबारे पनि सुझाव आएको एक प्रतिनिधिले बताए ।

प्रतिवेदनमा जलवायु परिवर्तन र वित्तीय भूमण्डलीकरणको मुद्दा समेटिनु राम्रो पक्ष भए पनि त्यसबारे थप प्रष्ट पार्नुपर्ने माग उठेको छ । त्यस्तै, विदेश सम्बन्धबारे ठोस रुपमा आउनुपर्ने सुझाव पनि राखिएको छ ।

अहिलेसम्म समूह १, १७, २२ र २३ का टोली नेताले समूहगत सुझाव राखेका छन् ।

टिप्पणीहरू