आत्मनिर्भर बनाउन युवाहरुलाई तालिम र कर्जा
युवाहरूलाई उद्यमी बनाउन चाँगुनारायण नगरपालिकाले एक हप्ते जेनेरेट योर बिजनेस र स्टार्ट योर बिजनेसको तालिम सञ्चालन गरेको छ । नगरपालिकाले मेयर उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत नगरभित्रका स्थानीय युवालाई उद्यमी बनाउन तालिम सञ्चालन गरेको हो ।
नौ वडा रहेको पालिकामा वडा नम्बर १ देखि ४ सम्मका स्थानीयलाई चाँगुनारायण माध्यमिक विद्यालयमा र वडा नम्बर ५ देखि ९ सम्मका स्थानीयलाई भत्केको पाटीस्थित रोम्बस स्कुलमा तालिम सञ्चालन गरेको छ । दुवै तालिम केन्द्रमा सहभागी युवाहरूलाई उद्यम परामर्श तथा सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशीलता र वित्तीय साक्षरतासम्बन्धी तालिम दिइएको पालिकाले जनाएको छ ।
नगरप्रमुख सोमप्रसाद मिश्रका अनुसार नगरपालिकाले ल्याएको मेयर उद्यमशीलता कार्यक्रम मुलुकभरका स्थानीय तहका लागि उदाहरणीय भएको र बैंकले यसलाई चाँगुनारायण मोडल नामाकरण गरी अरु स्थानीय तहमा समेत सुरु गरेको जानकारी दिनुभयो । उनले नगरपालिकाले गत आर्थिक वर्षको उद्यमशीलता कार्यक्रममा ११ सयभन्दा बढीको आवेदन परेको र त्यसमध्ये एक हजार १२ जना अभिमुखीकरण तालिममा सहभागी भएको बताउनुभयो ।
तालिमबाट छ सयजना स्थानीयलाई छनोट गरी गत वर्ष तीन सय ९० जनालाई उद्यमी बन्न कर्जाको व्यवस्था गरिएको थियो । जसअनुसार हालसम्म ६५ जना स्थानीयले बैंकबाट कर्जा लिई व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
टिप्पणीहरू