खल्तीमा दुईटा नागरिकता बोकेर गाउँपालिकाका अध्यक्ष निस्फिक्री

खल्तीमा दुईटा नागरिकता बोकेर गाउँपालिकाका अध्यक्ष निस्फिक्री

नेपालको कानुनले एउटै व्यक्तिलाई दुईवटा नागरिकता लिन बर्जित गरेको छ । नागरिकता ऐन– २०६३ मा एकभन्दा बढी नागरिकताको प्रमाणपत्र लिन नपाउने किटानी व्यवस्था छ । झुठो विवरण पेश गरेर दुइवटा नागरिकता लिएको पाइए नागरिकता लिने व्यक्ति र जारी गर्ने अधिकारी दुबै जना सजायको भागेदार हुनुपर्ने कानुनी व्यवस्था छ ।

तर, ऐनको यस्तो व्यवस्था रोल्पाका एक जना जनप्रतिनिधिका हकमा भने लागू भएको छैन । आजभन्दा चार वर्षअघि गंगादेव गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्रीमाथि दुइवटा फरक–फरक नामबाट नागरिकता लिएको आरोप लागेको थियो । खत्रीले फरक नामबाट दुईवटा नागरिकता लिएको भन्दै २०७४ सालमा एक जना स्थानीयले जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत हालेका थिए ।

उजुरीमा खत्रीले २०४२ मंसिर १० गते भिउदे खत्रीको नामबाट ३८९२ नम्बरको र २०४६ वैशाख १५ गते वीरबहादुर खत्रीको नामबाट १८६ नम्बरको नागरिकता लिएको भन्दै छानबिन गरि कारबाहीको माग गरिएको थियो । उजुरीपछि जिल्ला प्रशासन कार्यालयले आवश्यक अनुसन्धान गरेर २०७५ असोज २६ गते दुबै नागरिकतासँग सम्बन्धित सम्पूर्ण सक्कल कागजात परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाएको थियो । बताइएअनुसार प्रयोगशालाले एउटै व्यक्तिका नामबाट दुईवटा नागरिकता लिएको पुष्टि गर्दै २०७५ कात्तिक ५ गते जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो ।

तर, उजुरी परेको चार वर्ष बितिसक्दासमेत छानबिन प्रक्रिया जहाँको त्यहिँ अड्किएको छ । नेपाली काँग्रेस रोल्पाका एक नेताले सत्ता र राजनीतिक प्रभावका कारण छानबिन रोकिएको आरोप लगाएका छन् । उनका अनुसार तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादललाई पटक–पटक आग्रह गर्दा पनि उनले टेरपुच्छर नलगाएका कारण छानबिन प्रभावित भएको हो । अहिले पनि गृहमन्त्री बालकृष्ण खाँणले चासो नदेखाएको उनको आरोप छ ।

यता, जिल्ला प्रशासन कार्यालय रोल्पाका सिडियो नवराज सापकोटाले भने यसबारे अनभिज्ञता प्रकट गरे । आफू भर्खरै जिल्लामा आएकाले आधिकारिक जानकारी दिन नसक्ने भन्दै उनी तर्किए । उनले भने, ‘म भर्खर आएको छु, सबैकुरा अध्ययन गरिसकेको छैन । छानबिन भइरहेको भन्ने सुनेको हो, अरु धेरै मलाई थाहा छैन ।’

जिल्ला प्रशासन कार्यालय स्रोतले भने खत्रीले दुई फरक–फरक नामबाट दुईवटा नागरिकता लिएको पुष्टि गरेको छ । कार्यालयको रेकर्डमा उल्लेख भएअनुसार खत्रीले प्रशासन कार्यालयबाटै भिउदे खत्रीको नामबाट पहिलो नागरिकता लिएका थिए । जसमा जन्म मिति २०४४ साउन १४ गते उल्लेख छ । दोस्रो नागरिकता भने २०४६ बैशाख २५ गते नागरिकता टोलीमार्फत लिएको रेकर्डमा देखिन्छ । मृत्यु भएका साईंला भाइ वीरबहादुरको नामबाट जन्म मिति २०२७ भदौ १ राखेर उनले अर्को नागरिकता लिएको रेकर्डमा देखिन्छ ।

नेपाल नागरिकता ऐन २०६३ तथा नेपाल नागरिकता नियमावली २०६३ मा र नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका २०६३ अनुसार झुठो विवरण दिएर दुई वा दुईभन्दा बढी नागरिकता लिएको भए पहिला लिएको नागरिकतालाई कायम गरी पछिल्लो नागरिकता प्रमुख जिल्ला अधिकारीले रद्ध गर्ने व्यवस्था छ ।

सोही ऐन, नियमावली र कार्यविधिमा ‘कसैले झुठो विवरणका आधारमा नागरिकता बनाई प्रचलनमा ल्याएमा त्यस्तो कार्य गर्ने गराउनेलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा २० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने,’ व्यवस्था छ ।

टिप्पणीहरू