हिउँ फालेपछि हवाइजहाज उड्यो

हिउँ फालेपछि हवाइजहाज उड्यो

हुम्लाको सिमकोट विमानस्थलको नियमित हवाई उडान पुनःसञ्चालनमा आएको छ । अस्ति र हिजो परेको लगातारको हिउँ फालेपछि हवाई उडान पुनः सञ्चालनमा आएको हो ।

विमानस्थलमा जमेको हिउँ स्थानीय जडीबुटी व्यवसायीको पहलमा आज बिहान पन्छाएपछि हवाई यातायात सञ्चालनमा आएको जडिबुटी व्यवसायी संघका अध्यक्ष रामबहादुर भण्डारीले बताए । विमानस्थलका कर्मचारी, एयरलाइन्सका कर्मचारी, जिल्लाका व्यवसायीहरूको संलग्नतामा जमेको हिउँ पन्छाइएको हो ।

हुम्लाको अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई यातायात हिमपातका कारण प्रभावित भएको थियो । हुम्लाको सदमुकाम सिमकोटमा दुई फिट हिउँ जमेको थियो भने उत्तरी क्षेत्रमा झण्डै चार फिट बढी हिउँ जमेको छ ।

टिप्पणीहरू