​सुन्दरीले सांसारिक मोह त्यागेको सन्दर्भ

  • राजेन्द्र स्थापित

पहिला पहिला भारतको बनारस (बाराणसी) छुट्टै राजतन्त्रात्मक राज्य थियो । एकदिन त्यहाँकी महारानीले आफू गर्भवती बनेको थाहा पाइन् । महिना पुगेपछि उनलाई प्रसूतिगृह लगियो । त्यसबेला सिपालु सुँडेनीहरुले बच्चाको जन्म बिहान सबेरै गराइदिन्थे । तर रानीको पेटबाट मासुको डल्लो मात्र निस्क्यो । रानीले बच्चाको ठाउँमा मासुको डल्लो जन्माएको खबर फैलिएमा जनताले दुत्कार्ने भएकाले त्यसलाई एउटा बाकसमा राखी सुनको पाताले सिंगारेर गंगा नदीमा फ्याँक्न लगाइन् ।

नदीको किनार भेडा गोठाला र एकजना जोगी बस्थे । जोगी सधैंझैं बिहानै नदीमा नुहाउन जाँदा एउटा बाकस बग्दै आएको देखे र टिपे । भित्र मासुको टुक्रा थियो । मासु कुहिएको र सडेको थिएन । उनले त्यो वस्तु कनै जीव भएको ठानी बाकसलाई बडो जतनका साथ कुुटीमा राखे । दुई हप्तापछि त्यो डल्लो दुई टुक्रामा विभाजित भयो । जोगीले हेरचाह गर्न थाले । अर्को दुई हप्तामा दुई टुक्राबाट ५ टुक्रा बन्यो । ७ दिनपछि एउटा टुक्रा सुन्दर बालकमा परिणत भयो भने बाँकी ४ टुक्रा सुन्दर बालिकामा । 

जोगीले खुशी हुँदै उनीहरुलाई हुर्काउन थाले । तिनले खाएर निलेको खाद्य बाहिरबाट प्रष्ट देखिन्थ्यो, अर्थात् उनीहरुको शरीर पारदर्शी खालको, छालाविहीन (पालीभाषामा लिच्छवि) थियो । बौद्ध ग्रन्थका अनुसार लिच्छवि वंशका आदि मानव यिनीहरु नै थिए । कसैकसैले छाला चाउरी नपर्ने (लिना छवि) भएकाले लिच्छवि हुन गएको तर्क अघि सारेका छन् । पाली भाषामा लेखिएका ग्रन्थहरुमा लिच्छवि र बज्जी एउटै हुन् भनिएको छ । उनीहरु बज्जी कसरी कहलिए, त्यसको पनि बेग्लै घटना उल्लेख छ । पछि गोठालाहरुको आग्रहमा बालक र बालिकालाई उनीहरुसँग खेल्न जान अनुमति दिए । जोगीले गोठालाहरुलाई यो पनि भनेका थिए कि ती बालक र बालिका अत्यन्त भाग्यवान छन्, राजासँग उनीहरुको निम्ति सानो टुक्रा भूभाग मागेर राजारानी बनाउनू । 

जोगीको निर्देशनअनुरुप गोठालाहरु गाईको शुद्ध दूधबाट बनेको पाँच परिकार लिएर राजासमक्ष पुगे । खाना राजालाई दिइसकेपछि उनीहरुको निम्ति सानो टुक्रा भूभाग मागे । राजाले एक सय योजना (एक योजनाबराबर १२ देखि १५ किमी हुन्छ) दिइदिए । गोठालाहरुले राजाबाट प्राप्त त्यो भूभागमा अलग्गै राज्य खडा गरे । १६ वर्षका लिच्छवि जुम्ल्याहा ती युवकलाई राजा र युवतीलाई रानी बनाए । विधिपूर्वक समारोहको आयोजना गरे । साथै सोही कार्यक्रममा अरु समुदायका कुनै व्यक्तिसँग पनि विवाह नगर्ने बाचा गर्न लगाए । वचनअनुरुप जोगीले पालेका ती दुई युवक–युवती पति–पत्नीसरह रहन थाले । हनिमुन मनाए । ९ महिनापछि युवती अर्थात् नयाँ राज्यकी रानीले जुम्ल्याहा छोराछोरी पाइन् ।  एवं रीतमा रानीले कूल १६ जोडी जुम्ल्याहा बच्चा जन्माइन् । केही समयपछि उनीहरुको संख्या धेरै पुग्यो । बाराणसीका राजाबाट प्राप्त भूमि खेतीपातीको निम्ति अपुग भयो । उनीहरुले तीनपटक गरेर शहर बिस्तार गरे । चारैतिर पर्खाल लगाए । पछि यही शहरको नाउँ वैशाली रहन गयो । पाली भाषामा वैशालीको अर्थ ठूलो अथवा विशाल हो । 

बौद्ध कालमा वैशाली विकसित र शक्तिशाली नगरमा परिणत भयो । त्यतिञ्जेलसम्म यो नगर ‘बज्जी गणराज्य’ बनिसकेको थियो । नगरभित्र ठूलो घण्टाघर र ७ हजार ७ सय ७ वटा प्यागोडा शैलीका घर, ७ हजार ७ सय ७ वटा बगैंचा र ७ हजार ७ सय ७ वटा पोखरी बन्यो । बगैंचामा एकदिन गरिब माली दम्पतीले एउटी बच्चीलाई फेला पा¥यो । बच्ची कसको हो, नाम–थर के हो उनीहरुले थाहा पाएनन् । माली परिवारमा हुर्कंदै युवावस्थामा पुगिन् आम्रपाली । चञ्चल स्वभावकी उनी अत्यन्त सुन्दर थिइन् । उनको रुपको वर्णन पाली ग्रन्थहरुमा पाइन्छ ।

आम्रपाली यति राम्री थिइन् कि नगरका प्रत्येक पुरुष उनीसित बिहे गर्न लालायित थिए । राजा हुन् वा व्यापारी, सबै उनलाई हासिल गर्न चाहन्थे । मालीको घरमा आम्रपालीसँग बिहे गर्न चाहनेहरुको निवेदन थुप्रियो । अब माली दम्पती दोधारमा प¥यो । छोरी आम्रपालीको बिहे कसैसँग गरिदिए अन्य सबै पुरुष रिसाउने र जसको कारण नगरमा अशान्ति मच्चिने डर भयो । वैशालीले त्यतिखेरै लोकतान्त्रिक राज्यको रुप लिइसकेको थियो । त्यहाँ संसदको व्यवस्था थियो । आम्रपालीसँग बिहे गर्न चाहनेको संख्या थुप्रै रहेकाले बिहे कोसँग गरिदिने भन्ने समस्या परिरहेको विषय सांसदहरुले थाहा पाएर उनीहरु पनि अचम्ममा परे । यो विषयलाई संसदमा छलफलको विषय बनाउने निधो गरे । वैशाली राज्यको एकता कायम राखिराख्न र राज्यभित्र शान्ति र अमनचैन बनाइराख्न राज्यका कुनै पनि व्यक्तिलाई दुःखी बनाउन उचित ठानेनन् । त्यसैले लामो छलफलपछि आम्रपालीलाई नगरबधू (वेश्या) बनाउने निर्णयमा पुगे । 

संसदको निर्णयले आम्रपालीको भविष्य अँध्यारोतर्फ धकेलियो । जीवन चकनाचुर भयो । उनी पुरै नगरका पुरुषहरुको खेलौना बन्न पुगिन् । उनको काँधमा नगरका प्रत्येक पुरुषलाई खुशी पार्नुपर्ने जिम्मेवारी आइप¥यो । सबैको भोग्या बनिन् । संसद्को निर्णयबाट नगरवासी अत्यन्त खुशी भए । सबैलाई आम्रपाली पाउने अवसर मिल्यो । उनले दिनरात पुरुषहरुको चाहना पूरा गर्दै गइन् । मनोरञ्जन दिँदै गइन् । आम्रपालीको सेवाबाट सम्पूर्ण जनता प्रसन्न रहने गरेको सन्देश पाएपछि संसदले उनलाई ‘जनपथ कल्याणी’ को उपाधिबाट सम्मानित ग¥यो । यो सबैभन्दा राम्री र प्रतिभाशाली महिलालाई दिइने दर्जा हो, जुन ७ वर्षका लागि दिइन्छ । आम्रपालीले सरकारको तर्फबाट एउटा दरबार पनि पाइन् । साथै शारीरिक सम्बन्ध कोसँग राख्ने र कोसँग नराख्ने छान्ने अधिकार पनि प्राप्त गरिन् । राजाको दरबारकी नर्तकी पनि बनिन् । 

वैशाली विश्वकै पहिलो गणतान्त्रिक राज्य मानिन्छ । बज्जिका यहाँको मुख्य भाषा हो । जैन धर्मका प्रवर्तक महावीरको जन्म यतै भएको हो । गौतम बुद्धको पनि यो कर्मभूमि हो, जहाँ उनी तीनपटक पुगे । यतिखेर वैशाली बिहारअन्तर्गत जिल्लाको रुपमा छ । २ हजार ३६ वर्गकिमीमा फैलिएको छ । त्यसबखत एउटा शक्तिशाली राज्य थियो । वैशालीनजिकैको मगध राज्य पनि त्यत्तिकै शक्तिशाली थियो । दक्षिण भारतबाट शुरु भएको यो ठाउँ पछि उत्तर भारतको शक्तिशाली राज्य बन्न पुग्यो । पहिला यसको राजधानी राजगीर थियो भने राजा अजातशत्रुका पुत्र उदयिनले राजधानी पाटलीपुत्र (पटना) मा सारे । 

मगधमा त्यसबेला बिम्बिसारको शासन थियो । उनको पालामा मगध र बैशाली शत्रु राज्य थिए । बिम्बिसारले पनि बैशालीकी नगरबधु आम्रपालीको सुन्दरताको बखान सुने । उनीसँग भेट्न आतुर बने । बैशाली शत्रु राज्य भएकाले राजाको भेषमा प्रवेश गर्नमा ठूलो चुनौती थियो, त्यसैले भेष बदलेर वैशाली पुगे । उनी संगीत जान्दथे, यसर्थ संगीतकारकै रुपमा वैशालीसँग भेटे । त्यसो त बिम्बिसारका ५ सय रानी थिए । तैपनि आम्रपालीलाई देखेपछि मुग्ध भए । आम्रपाली पनि बिम्बिसारसँग प्रेम गर्न थालिन् । केही दिनको उठबसपछि उनी गर्भवती बनिन् । र, छोरो (जीवक) लाई जन्म दिइन् । जो पछि प्रख्यात चिकित्सक बने । भिक्षु बनेर बुद्धको सेवा गरे । 

बिम्बिसार आम्रपालीलाई रानी बनाउन चाहन्थे । त्यसैले वैशालीमाथि आक्रमण गरे । त्यसक्रममा आम्रपालीको घरमा शरण लिन पुगे । त्यतिखेर बल्ल आम्रपालीले बिम्बिसारको सक्कली परिचय थाहा पाइन् । उनले युद्ध रोक्न बिन्ती गरिन् । आम्रपालीलाई हृदयदेखि प्रेम गर्ने बिम्बिसारले आम्रपालीको कुरा माने । तर उनलाई मगधको महारानी बन्न प्रस्ताव राखे । मगध वैशालीको ठूलो शत्रु भएको र त्यहाँको महारानी बनेमा दुई राज्यबीच भिषण युद्ध हुने, जसमा हजारौंको ज्यान जाने भएकाले आम्रपालीले स्वीकारिनन् । 

बिम्बिसारलाई मारेर छोरा अजातशत्रु मगधको राजा बने । उनी पनि आम्रपालीसँग प्र्रेम गर्थे । वैशालीका जनताले थाहा पाएपछि आम्रपालीलाई जेलमा हालिदिए । यो घटनाबाट क्रोधित अजातशत्रुले वैशालीमाथि आक्रमण गरे । धेरैको ज्यान गयो । यसबाट आम्रपाली दुःखी बनिन् । उनी बैशाली जनतालाई दुःख दिएर मगधको रानी बन्न चाहँदैन थिइन् । त्यसैले अजातशत्रुलाई त्यागिन् । पछि उनको भेट गौतम बुद्धसित भयो । बुद्धको चरित्र, शालीनता, उपदेश र आफ्नै छोरा जीवकको उपदेशबाट प्रभावित भइन् । आफूलाई कुरुप देखिन् । पूरा बैशाली र मगधलाई मन्त्रमुग्ध बनाएको आफ्नो लामो कपाल काटेर भिक्षुणी बनिन् । पछि एक प्रतिष्ठित भिक्षुणीको रुपमा देह त्यागिन् ।

टिप्पणीहरू