राप्रपा नेताहरु एकाबिहानै रविन्द्र मिश्रको दैलोमा

राप्रपा नेताहरु एकाबिहानै रविन्द्र मिश्रको दैलोमा

‘मार्ग परिवर्तन’ का नाममा राजतन्त्र फर्काउने अभियानमा लागेको आरोप खेपिरहेका विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले पूर्वपञ्चहरुको पार्टीको रुपमा परिचित राप्रपाका नेताहरुसँग भेटघाट गरेका छन् ।

मिश्रले राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलसमशेर राणासँग आज बिहान आफ्नै निवासमा भेटघाट गरेका हुन् । भेटघाटबारे जानकारी गराउँदै उनले फेसबुकमा लेखेका छन्, ‘बिहानी पाहुनासँग राजनीतिसँगै राजकाज संवाद !’

राजावादी नेताहरुसँगको भेटमा राजनीति, समाज र मुलुकको भविश्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भएको मिश्रको भनाइ छ ।

वैकल्पिक राजनीतिको एजेण्डा अघि सार्दै पत्रकारिता छाडेर केही वर्ष अघिमात्रै राजनीतिमा आएका मिश्रले पछिल्लो समय आफूलाई गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका विपक्षमा उभ्याएका छन् । त्यहि कारण विवेकशील साझा पार्टी विभाजनमा पुगेको छ ।

मिश्रले गणतन्त्रको पक्षमा उभिएका पार्टीका संयोजक मिलन पाण्डेलाई कारवाही गरेका छन् भने पाण्डे निकटहरुलाई केन्द्रीय समितिबाट निकालेका छन् । मिश्रको राजनीतिक लाइनसँग असन्तुष्ट रहँदै नेतृ रञ्जु दर्शनाले समेत पार्टी परित्याग गरेकी छन् ।

टिप्पणीहरू