गोकर्ण विष्टको गाउँपालिका उपाध्यक्षविरुद्ध काँग्रेसले आन्दोलन गर्ने

गोकर्ण विष्टको गाउँपालिका उपाध्यक्षविरुद्ध काँग्रेसले आन्दोलन गर्ने

नेपाली काँग्रेसले गुल्मी जिल्लाको इस्मा गाउँपालिका उपाध्यक्ष विमला खत्रीविरुद्ध आन्दोलन गर्ने चेतावनी छ । उपाध्यक्ष खत्रीले नेपाली काँग्रेसका प्रदेश सभापति झविन्द्र अर्यालविरुद्ध दायर गरेको मुद्दा गलत भएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको हो ।

इस्मा सरकारले पटक पटक सडक मर्मतका लागि कार्यरत लेन्थवर्करहरुलाई आफ्नो जिम्मेवारीभन्दा बाहिर लिएर अन्य काममा खटाउने कार्य सुशासन विपरीत भएको नेपाली काँग्रेसका इस्मा पालिका सभापति कृष्णप्रसाद रिजालले दाबी गरेका छन् ।

आज प्रकाशित विज्ञप्तिमा उनले भनेका छन्, ‘सडक मर्मतका लागि कार्यरत लेन्थवर्करहरुलाई दोहलीका नेकपा एमालेका कार्यकर्ता मानबहादुर बस्नेतको घरमा दाउरा काट्न खटाइएको गलत कार्यले इस्मा सरकारको सुशासनलाई गिज्याइ रहेको छ ।’ यसअघि गाउँपालिकाले कागती खेती प्रवद्र्धन कार्यक्रममा समेत १४ लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै उनले गाउँपालिका अध्यक्ष र उपाध्यक्षप्रति इंगित गरेका छन् ।

गाउँपालिका अध्यक्ष लक्ष्मण विष्ट नाताले माननीय तथा एमाले नेता गोकर्ण विष्टका दाजु हुन् । तर त्यस्तो कार्य गतल भएको आग्रह गर्दै रोक्न खोज्दा उल्टै उपाध्यक्षले जिल्ला अदालतमा काँग्रेस सभापतिविरुद्ध मुद्दा दायर गरेको समेत उनले उल्लेख गरेका छन् ।

‘उपाध्यक्षद्वारा गुल्मी जिल्ला अदालतमा प्रदेश सभापतिविरुद्ध दायर गरिएको मुद्दा सरकार स्वयम्द्वारा गरिएको गलत कार्य ढाकछोप गर्ने उद्देश्य हो भन्ने ठहर गर्दै,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘गाउँपालिकाका यस्ता खेदजनक कार्यप्रति आन्दोलन गर्ने चेतावनी छ ।’

टिप्पणीहरू