‘संविधान पक्षधर शक्ति एकै ठाउँमा उभिनु जरुरी छ’

‘संविधान पक्षधर शक्ति एकै ठाउँमा उभिनु जरुरी छ’

नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाले संविधानका पक्षधर शक्तिहरु बीचको सहकार्य र एकतामा जोड दिएका छन् ।

पाँच दलीय गठबन्धनलाई लिएर काँग्रेसमा मतैक्यता हुन नसकिरहेका बेला संविधानको सफल कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकासका लागि संविधान मान्ने शक्तिहरुबीच सहकार्य र एकता हुनुपर्ने उनको भनाइ छ ।

‘हामीले बनाएको संविधानको सफल कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकासका लागि संविधानका पक्षधर राजनीतिक शक्तिबीचको सहकार्य र मेलमिलाप आजको आवश्यकता हो’, राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा शुभकामना दिँदै थापाले भनेका छन् ।

उनले राष्ट्रिय एकताका लागि सबैभन्दा पहिले काँग्रेसभित्रै एकता हुनुपर्ने पनि उल्लेख गरेका छन् । सुदृढ र एकतावद्ध कांग्रेसले मात्र राष्ट्रिय आवश्यकता अनुरुपको जिम्मेवारी पूरा गर्नसक्ने उनको भनाइ छ ।

महामन्त्री थापा भन्छन्, ’नेपाली काँग्रेसको भर्खरै सम्पन्न महाधिवेशनका क्रममा दुःखेका मनहरूलाई टाल्दै पार्टीभित्र एकताबद्ध रुपमा नयाँ ऊर्जाका साथ त्यो कार्यभार पूरा गर्नुपर्नेछ ।’

विपी कोइरालाले त्यतिबेला अंगिकार गरेको राष्ट्रिय मेलमिलाप नीतिले आजको जिम्मेवारी सफलतापूर्वक पूरा गर्न उत्प्रेरित गर्ने पनि थापाको विश्वास छ ।

टिप्पणीहरू