जागिरका लागि पढ्ने कि जीवनका लागि ?
- – प्रेमराज सिलवाल
‘बाबा, हजुर चाहिने कुरामा खर्च गर्नुहुन्न । भाइहरूको ब्रतबन्धमा भोज गर्नुपर्ने पैसा बिनाअर्थ आफ्नो पढाइमा खर्च गरिरहनुभएको छ । के गर्नुहुन्छ हजुरले पढेर ? के जागिर खाने हो ? के देखाउन पढेको ? यो उमेरमा पढेर के गर्ने हो ?’ प्लस टु अध्ययनरत छोरी प्रियंकाको भनाइले गम्भीर बनायो । त्यो भनाइमा सिंगो समाजको चिन्तन प्रतिविम्बित भएको अनुभूति भयो । ४० कटेको, कुनै जागिरमा नभएको र भविष्यमा पनि जागिर खाने सम्भावना नभएको मान्छेले एलएलएम र विद्यावारिधिजस्ता पढाइमा समय खर्च गर्नु मानिसका लागि वाहियात जस्तै लाग्नु स्वाभाविकै होला । किनकि समाजको चिन्तन नै ‘पढ्ने भनेको जागिर खानकै लागि भन्ने हो ।’
हाम्रा शिक्षा प्रणाली, सिकाइ, विधि, सोच, सबै–सबैमा पढ्ने भनेको निश्चित तहको परीक्षा पास गर्ने र त्यसअनुसार आयमूलक रोजगारी पाउने भन्ने मात्र प्रतिविम्बित हुन्छ । जीवनका लागि भात वा भौतिक व्यवस्था आवश्यक र अनिवार्य हो । तर, के पढाइ, लेखाइ, बुझाइ, अध्ययन÷अुनसन्धान, ज्ञान, दर्शन आदिको अर्थ र महत्व रोजगारी, जागिर वा पैसासँग मात्र सीमित हुन्छ ? के मानिसले जीवन धान्न कुनै रोजगारी, व्यवसाय, स्वआर्जन वा सामान्य आयको क्षेत्रमा लाग्दै आफ्नो अध्ययन, अनुसन्धान, पढाइ, लेखाइ, ज्ञान, बुझाइको दायरालाई फराकिलो बनाएर लैजान सक्दैन ? के पढाइ–लेखाइ र अध्ययन–अनुसन्धान कसैले दिने नोकरी वा जागिरको उद्देश्यले मात्र गर्ने हो ? के कुनै निश्चित उमेर पूरा भई रोजगारीमा भएको मान्छेले त्यसपछि पढ्न पर्दैन ? के मानिसले आफ्नो ज्ञानको दायरा फराकिलो बनाउन वा भएको ज्ञानलाई थप ताजापन दिन, दिमागलाई गलत काम र क्षेत्रबाट जोगाउन अध्ययनमा समय लगाउन हुन्न ? शहरकै शिक्षित अभिभावकसमेत पढाइ भन्ने कुरा विदेश जाने वा विदेशमा रोजगारी पाउने अस्त्रबाहेक केही होइन भन्ने अर्थमा बुझ्दै छन् । अध्ययनलाई हामीले किन यसरी साँघुरो घेराभित्र राखेका छौं ? पढाइ र अध्ययनका लागि जीवन हो कि जीवनका लागि पढाइ हो ?
शिक्षा, ज्ञान, अध्ययन भनेको कहिल्यै पूरा नहुने प्रक्रिया हो । ज्ञानको सुरुवात हुन सक्छ तर अन्त्य हुन्न । अध्ययनको सुरुवात गर्न सकिन्छ तर पूरा वा पूर्ण बनाउनै सकिन्न । अध्ययनको दायरा यति फराकिलो हुन्छ कि जति डिग्री गरेर पनि मानिस ज्ञान र शिक्षाबाट पूर्ण बन्नै सक्दैन । मानिस मर्ने बेलासम्म पनि सिक्दै र जान्दै रहेको हुन्छ । यो विषयमा यति ज्ञान भयो, अब पुग्यो भन्ने नै हुन्न । जीवन रहेसम्म त्यो जारी रहन्छ र राख्नुपर्छ ।
ग्रिक दार्शनिक प्लेटो, अरस्तु, सुकरात आदिले शिक्षा र ज्ञानलाई मानिसको जीवनसँग मात्र जोडेनन् शिक्षा र ज्ञान नै ठूलो शक्ति हो भनेका छन् । प्लेटोले नागरिक तथा शासक शिक्षित र ज्ञानी हुनैपर्ने भन्दै शिक्षितले मात्र भोट हाल्न पाउनुपर्छ भनेका थिए । भारतका विद्वान् चाणक्यले अभिभावकले आफ्ना बच्चालाई असल शिक्षा, संस्कार र नैतिकता सिकाउनुपर्छ भनेका छन् । गौतम बुद्धले आफ्नो सम्पूर्ण जीवन नै ध्यान, ज्ञान र अध्ययनमा बिताए । युरोपको कुरा गर्ने हो भने त्यो क्षेत्र समृद्ध भएको कारण ज्ञान, दर्शन, अध्ययन र विचार हो । जर्मनमा हेगेल, कार्ल माक्र्स, सेभेग्नी आदिले अध्ययन र विचारबाट विश्वभर नाम फैलाए । थोमस हब्स, मेक्याबेली, रूसो, लक, कान्ट, बेन्थम, डायसी, मन्टेस्क्यूजस्ता अनेकौं दार्शनिक युरोपकै थिए जसले विचार, ज्ञान र दर्शनको क्षेत्रमा आफूलाई जीवनभर समर्पित गर्दै विश्वलाई अनेक दर्शन र विचार दिए ।
युरोपको समग्र विकास हुनुमा विचार र दर्शनको बलियो प्रभाव छ । अफ्रिका, एसिया र नेपालजस्ता मुलुक पछि पर्नुको एउटा कारण विश्व चर्चित दार्शनिक, ज्ञानी, विद्वान् र विचारक न्यून भएर पनि हो । भारतमा महात्मा गान्धीले आफ्नो विचारबाटै शक्तिशाली अंग्रेजलाई बिनाहतियार परास्त गरिदिए ।
मानिस आर्थिक र भौतिक दृष्टिले जति नै धनी र सम्पन्नशाली भए पनि ज्ञान, शिक्षा, अध्ययन, नैतिकता, विचार, दर्शन आदिबाट प्रभावित छैन र अध्ययन–खोजमा रुचि/ध्यान दिनै चाहँदैन भने त्यो प्लाष्टिकको सुन्दर फूलजस्तो हुन पुग्छ । जसरी एकपटक अर्चापेको हँसियालाई घाँसीले प्रत्येक दिन ढुंगामा घस्दै जंगल पस्ने गर्छन् त्यस्तै मानिसको जीवनको हरेक राम्रो क्रियाकलापको सुरुवात अध्ययन, ज्ञान र विचारबाट हुनु उत्तम मानिन्छ । दैनिक साँध नलगाएको हँसियाजस्तै निरन्तर अध्ययन र अनुसन्धानमा नरहेको मानिसको जीवन पनि बोधो बन्न पुग्छ ।
शरीर बूढो हुन्छ तर मन र ज्ञान बूढो हुन्न । हाम्रा सोच र चिन्तन, व्यवहार, शैली र सोचाइलाई बूढो बनाइन्छ र मानिन्छ । पढ्ने, ज्ञान हासिल गर्ने, शिक्षा हासिल गर्ने, अध्ययन गर्ने र जान्ने कुुरालाई उमेर र अवस्थाले छेक्दैन र छेक्नु हुन्न । सकेसम्म अध्ययन जारी राख्नु उचित हो । विश्वमा र नेपालमै पनि त्यस्ता थुप्रै उदाहरण भेटिन्छन् जसले आठ दशकभन्दा बढीसम्म पनि आफूलाई विभिन्न प्रकारले अध्ययन÷ अनुसन्धानमा लगाइराखेका छन् । त्यसैले प्रियंकाले भनेजस्तो सामाजिक चिन्तन र सोच बूढो हो, पुरानो हो । पढ्ने, जान्ने र अध्ययन गर्ने कुरा तन्नेरी हो । बग्ने खोलाजस्तो हो । जो बगिरहन्छ । भातका लागि पढ्ने होइन । जीवन समृद्ध बनाउन पढ्ने र अध्ययन गरिरहने हो ।
(लेखक अधिवक्ता हुन्)
टिप्पणीहरू