आज नवौं ‘टोपी’ दिवस

आज नवौं ‘टोपी’ दिवस

आज टोपी दिवस मनाईंदै छ । विगत नौ वर्षदेखि पुस १७ अर्थात् अंगे्रजी नयाँ वर्षमा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउने गरिएको हो । पछिल्लो एक दशकदेखि आजका दिन महिला पुरुषले शीरमा ढाका टोपी लगाएर दिवस मनाउने गरिएको छ ।

ढाका टोपीलाई नेपाली टोपी समेत भनिन्छ । ढाका टोपीलाई नेपाली कला, धर्म र संस्कृतिसँग जोडिएको छ । देशको मौलिक परम्परा र राष्ट्रियतासँग जोडिएकाले नेपालीले आजको दिनलाई महत्वपूर्ण मान्न थालेको यसका पक्षधरहरुले बताएका छन् ।

सांस्कृतिक दृष्टिकोणले भिन्नै महत्व बोकेको नेपाली टोपी कुनै बेला सरकारी कार्यालयमा अनिवार्य थियो । तर पछिल्ला दिनमा टोपी लगाउने प्रचलन कम भएको छ । त्यसैलाई जोगाउन टोपी दिवस मनाउन थालिएको आयोजकहरुको दाबी छ ।

नेपाली टोपी प्रायः टोपी ढाकाको कपडाबाट बुनिन्छ । नेपालमा पाल्पाली र पूर्वेली ढाका टोपी प्रख्यात छन् । नेपालमा धेरै प्रकारका टोपी प्रयोग भए पनि भादगाउँले अर्थात् कालो र ढाका टोपी मुख्य हुन् । ढाका टोपी चाडपर्वमा बढी लगाउने गरिन्छ ।

२०७० साल पुस १७ गते र अंग्रेजी पात्रोअनुसार जनवरी १ तारिख पारेर नेपालमा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको हो । यो दिवस मनाउनुको उद्देश्य शताब्दीऔंदेखि प्रयोग भइरहेका विभिन्न प्रकारका नेपाली टोपीहरूको प्रयोगलाई विश्वमा चिनाउनु बताइन्छ ।

यो अवसरमा आज विभिन्न संघसंस्थाले राजधानीको माइतीघरमा भेला भएर टोपी दिवस मनाउने कार्यक्रम राखेका छन् ।

टिप्पणीहरू