पूर्व राजाले दिएको पैसा खै त !

पूर्व राजाले दिएको पैसा खै त !

आफ्नै नेता कमल थापाबाट पार्टी नेतृत्वदेखि पूर्वराजासम्मलाई अनेकन आरोप, अर्कातिर सत्तारुढ गठबन्धनका नेताहरुबाट सहकार्यको भित्री अभ्यास– राप्रपाभित्र पछिल्लो समय विकसित घटनाक्रम हो यो ।

भनियो– पूर्वराजा सल्बलाए, पैसाको खोलो बगाए, अनि कमल थापा बिदा भए ! यो कुरा भनिएजति सत्य होला नहोला तर यथार्थ के हो भने एउटा मान्छेलाई अमेरिकादेखि बोलाएर बूढाखाडालाई एक ठाउँमा उभ्याउँदै ५२ वर्षीय राजेन्द्र लिङ्देनले अध्यक्षमा बाजी मारेका रहेछन् ।

राप्रपा नेताहरुको अनुसार, लिङ्देनलाई जिताउन अमेरिकाबाट दिलनाथ गिरीलाई बोलाइयो । महाधिवेशन हुनुभन्दा तीन दिनअघि आएका उनी लिङ्देनलाई जिताएर अर्को तीन दिनपछि अमेरिका फर्किए । उनले कान्तिपथस्थित होटल एल्लो पगोडामा मुकाम खडा गरे ।

उक्त होटल राप्रपाका पूर्वकोषाध्यक्ष दिलविकास राजभण्डारीहरुको हो । त्यहीँ बसेर दिलनाथले तीन दिनमा ‘खुराफात’ गरेको बताइन्छ । उनी आउनेबित्तिकै लोकेन्द्रबहादुर चन्द, पशुपतिसमशेर राणा, नवराज सुवेदी, हरिबहादुर बस्नेतहरुलाई लिङ्देनको पक्षमा उभ्याउने पहल भएको थियो ।

चुनावपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्रलाई विभिन्न किसिमले बद्नाम गरेको आरोप उक्त पार्टीका नेताहरुको छ । उनले ०७० को दोस्रो संविधानसभा निर्वाचनमा पूर्वराजाले राप्रपालाई दुई करोड खर्च दिएको भनेका छन् । त्यसबेलाका कोषाध्यक्ष थिए, दिलविकास राजण्डारी । उनले कमल थापाले आफूलाई ९५ लाख मात्रै दिएको र बाँकी एक करोड ५ लाख खाएको कुरा बल्ल प्रमाणित भयो भन्ने गरेका छन् ।

लिङ्देनले कांग्रेस महाधिवेशनमा राजनीतिक दलका नेताहरुलाई ‘चोर नभनेको भए हुन्थ्यो’ भन्ने कमल थापाको टिप्पणी छ । पार्टीका नेताहरुले भन्दैछन्– ‘पूर्वराजाको विरोध गर्नेहरुलाई चोर भन्दा कमल थापालाई किन चिन्ता ?’

महाधिवेशनपछि कमल थापा झन्झनै कमजोर भएको अर्को प्रमाण हो, दिपक बोहोराको वक्तव्य । अमेरिकामा घाँटीको उपचार गर्न जानुअघि उनले सार्वजनिक गरेको वक्तव्यमा लिङ्देनलाई साथ दिनुपर्ने कुरा उल्लेख छ । उनी कमल थापाका निकटस्थ मानिन्थे ।

त्यस्तै, कमलनिकट मानिने निरञ्जन थापाले पनि साथ छाडिसके । एक टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा उनले भनेका थिए, ‘कमलजीको विरोध गर्न त सकिँदैन, समर्थन पनि गर्न सकिएन ।’

भनिन्छ, लिङ्देन राप्रपा अध्यक्ष भएपछि स्वतन्त्र किसिमका राजावादीबीच एकताको सम्भावना बढेको छ । आउँदो पृथ्वी जयन्ती (पुस २७) का दिन भव्य कार्यक्रम गर्ने तयारी छ । त्यसदिन केही ऐतिहासिक घोषणासहित राप्रपा आक्रामक रुपमा अगाडि बढ्ने दावी उक्त पार्टीका नेताहरुले गरेका छन् । चर्चा छ– रवीन्द्र मिश्र, ज्ञानेन्द्र शाहीहरुलाई भित्र्याउन कुरा भइरहेको छ ।

खुमलटारस्रोतले जनाएअनुसार, ओलीलाई आगामी निर्वाचनमा झापामा कमजोर बनाउन प्रचण्ड र माधव नेपालहरुबाट लिङ्देनसँग सहकार्यका निम्ति प्रस्ताव गएको छ ।

टिप्पणीहरू