प्रचण्डको प्रतिवेदन पारित, फरक मत र पूरक प्रस्ताव छलफलमा जाने

प्रचण्डको प्रतिवेदन पारित, फरक मत र पूरक प्रस्ताव छलफलमा जाने

नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ ।

अध्यक्ष प्रचण्डले प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिएपछि बन्दसत्रले पारित गरेको हो । सोमबार प्रस्तुत भएको राजनीतिक प्रतिवेदनमाथि चार दिन लामो छलफल भएको थियो । २५ वटा समूहले दिएका सुझाव प्रस्तुतीकरण बिहीबार सकिएसँगै प्रचण्डले आज जवाफ दिनुभएको हो ।

सो क्रममा उहाँले सबैको भावना समेटेर दस्तावेजलाई परिपक्व बनाउने वाचा गरे पनि फरक मत र पूरक प्रस्तावमाथि ठोस जवाफ भने दिनुभएन । तथापि ती प्रस्तावहरुमाथि आवश्यकताअनुसार छलफल गर्ने प्रचण्डको भनाइ छ । प्रचण्डको प्रतिवेदनमाथि स्थायी कमिटी सदस्य हरिबोल गजुरेल र नेता राम कार्कीले पूरक प्रस्ताव दर्ता गराएका थिए भने युवा नेता लेखनाथ न्यौपानेले १० बुँदे फरक मत राखेका थिए ।

प्रतिनिधिहरुले गरेका टिप्पणी, सुझाव र फरक मतलाई बृहत बहसमा लगेर विचारको विकास गर्न तीनै तहका निर्वाचनलगत्तै विशेष महाधिवेशन गर्ने पनि महाधिवेशनले निर्णय गरेको छ ।

राजनीतिक प्रस्ताव पारित भएपछि अब आजैदेखि नयाँ नेतृत्व चयन प्रक्रियामा जाने भएको छ । प्रतिनिधिहरुले २ सय ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने र केन्द्रीय सदस्यहरुले अध्यक्षसहित १५ जना पदाधिकारी निर्वाचित गर्ने माओवादीको विधानमा व्यवस्था छ ।

माओवादी केन्द्रको आठौं महाधिवेशन राजधानीमा गत आइतबार उद्घाटित भएको हो ।

टिप्पणीहरू