अनि ती नेता शपथमै आएनन्

अनि ती नेता शपथमै आएनन्

जबरजस्तीको शैलीमा नेतृत्व चयन गरिँदा मान्छेका मनहरु कसरी कुँडिदै जान्छन् भन्ने कुरा एमाले महाधिवेशनपछि देखिन थालेको छ ।

बन्दसत्र हलभित्रै अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्यानल पेश गरी केन्द्रीय नेतृत्व निर्माण गरेपछि त्यसको असर अहिले देशभर देखिन थालेको छ । त्यसमध्ये एउटा नमुना घटना काठमाडौं उपत्यकाकै छ । जिल्ला कमिटीको उपसचिवलाई प्रदेश कमिटीको अध्यक्ष बनाइयो । त्यही कमिटीका सचिवलाई भने सचिव नै कायम गरियो ।

के आफ्नै उपसचिव अध्यक्ष भएर आएको कमिटीको शपथमा ती सचिव जालान् त ? उनीमात्र हैन, त्यस्तो पीडामा भएका अरु पनि गएनन् । पेशाकर्मी, विद्यार्थी, मजदुरसहितका क्षेत्रलाई समेट्ने प्रदेशस्तरको उपत्यका विशेष प्रदेश कमिटीको शपथ ग्रहणमा त्यस्तो घटना भएको हो ।

प्रदेशको इञ्चार्ज भएर गएकी सुजिता शाक्य, सहइञ्चार्ज बिना श्रेष्ठहरु पुगेको उक्त कार्यक्रममा इञ्चार्जबाट बिदा हुनुपर्ने पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पुग्नुभएन । किनभने, पार्टीमा वरिष्ठ उपाध्यक्ष त बनाइयो, तर भूमिकाशून्य । गतवर्षको पुस ५ अघि उपत्यका पेशागत जिल्ला कमिटीमा प्रेमप्रसाद पराजुली अध्यक्ष थिए ।

पुस ५ पछि ओलीद्वारा गठित १५ सय १ सदस्यीय केन्द्रीय कमिटीमा अध्यक्ष प्रेमप्रसादसहित सचिव समीर नेपाल केन्द्रीय सदस्य बनाइए । उपाध्यक्ष भोलानाथ पोखरेल माधव नेपालतिर लागेर त्यताको अध्यक्ष भए । बाँकी भएका उपसचिव प्रेमकुमार पराजुली जिल्ला कमिटी अध्यक्ष भए ।

तर, १५ सय १ सदस्यीय केन्द्रीय कमिटीलाई अदालत र निर्वाचन आयोगले अस्वीकार गरेपछि प्रेमकुमार र समीर क्रमशः विशेष प्रदेशको अध्यक्ष र सचिव भए । प्रेमकुमार जिल्लामै रहे । १० औँ महाधिवेशनबाट उनीहरु केन्द्रीय सदस्य बन्ने भनेर आशावादी थिए । केन्द्रीय सदस्य त बनाइएनन्, बरु प्रदेश कमिटीमा पनि हिजोका उपसचिवले क्षमताका आधारमा सबलाई बाजी मारिदिए ।

त्यसैले प्रेमप्रसाद उपत्यका बाहिर भएको र अरु सञ्चो नभएको बहानामा शपथमा गएनन् । उद्योग व्यवसाय जिल्ला कमिटीको अध्यक्ष बनाइएका चन्द्र रिजाल केन्द्रीय सदस्यको प्रत्यासीका रुपमा प्रचारित भए । तर, उनलाई विशेष प्रदेशको उपसचिव भनी घोषणा गरियो । उनलाई पनि पीडा भयो, शपथमा गएनन् ।

फलतः १ सय ७० सदस्यीय विशेष प्रदेश कमिटीको शपथमा असी जना पनि पुगेनन् । बागबजारस्थित हार्दिक होटलमा शनिबार दिउँसो ३ बजे उक्त कार्यक्रम थियो ।

टिप्पणीहरू