नवौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको शुभकामना

नवौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको शुभकामना

-लेखनाथ खतिवडा ‘शिकारु’

‘मेरो टोपी कैलाशको शीर जस्तो
हिमाली भीर जस्तो
कहिल्यै पनि झुक्न नजान्ने
कहिल्यै पनि रुक्न नमान्ने
मेरो टोपी, नेपाली भीर जस्तो, नेपाली वीर जस्तो’
–गोपाल योञ्जन

नेपाली टोपीको सन्दर्भमा गोपाल योञ्जनको यो गीत नै काफी छ । हाम्रो शान, मान र पहिचानको सवालमा । नेपाली टोपीको साइनो विश्वको अग्लो शीर नेपालमा रहेको सगरमाथा र कैलाश पर्वतसँग जोड्ने गरीन्छ ।

विगत ९ वर्षदेखि जनवरी १ तारिखलाई नेपाली टोपीः नेपालीको शान, मान र पहिचान भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउने गरिएको छ ।

नेपाली टोपी दिवस स्वःस्फूर्त रूपमा नेपाली जनले मनाउँदै आएका छन् । मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको र नेपाली पहिचानमा प्रभाव परेको भन्दै केही युवाहरूले २०७० सालदेखि ’टोपी दिवस’ मनाउन थालेका हुन् ।ढाका नेपाली हातले बुनिने एउटा विशेष प्रकारको कपडा हो र त्यसबाट बनेको टोपी नै ढाका टोपी हो जुन नेपालीको शान पनि हो ।टोपीलाई शीरपोस पनि भनिन्छ । यस्तै ढाका टोपी ढाकाको कपडाबाट बुनेका पुरूषहरूले लगाउने पहिरन नै टोपी हो । ढाका टोपी नेपालको राष्ट्रिय पोशाक पनि हो । ढाका टोपी घरेलु तानमा हातले बुनेको कपडाबाट बनाइएको हुन्छ । ढाका टोपी पुरूषहरूले मात्र प्रयोग गर्छन् ।

प्रायः दौरा सुरूवालको साथमा ढाका टोपी लगाउने गरिन्छ । ढाका टोपीले नेपाली जातिको पहिचान जनाउँछ । पाल्पाली र पूर्वेली ढाका टोपीलाई देशकै उत्कृष्ट ढाका टोपी मानिन्छ । हाम्रो मान, शान र पहिचान नेपाली टोपी हो । यसको सम्मान अब हामी सबैले गर्न जरुरी छ ।

नेवार भाषामा कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई धाका भनिन्छ । धाकाबाट बुनिएको टोपीलाई धाका तपुली भनिन्छ जसलाई ढाका टोपी भन्ने गरिएको मानिन्छ । ढाका टोपी नितान्त नेपाली उत्पादन मानिन्छ । केहि विश्लेषकहरुले टाउको ढाक्ने हुनाले टाउको ढाक्ने टोपी लाई कालान्तरमा ढाका टोपी भनियो भनेर पनि उल्लेख गरेका छन् । त्यो खोज अनुसन्धानको विषय हो ।

सन् २०१३ नोभेम्बर २६ मा सामाजिक सञ्जाल फेसबुकमा एउटा सार्वजनिक पेज निर्माण गरी पहिलोपटक सार्वजनिक रूपमा जनवरी १ लाई “अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस” र नेपाली टोपी लगाउने दिवस भनि सबैलाई नेपाली टोपी लगाउन आह्वान गरी यो दिवस शुरु गरिएको हो ।

त्यसपछि सन् २०१४ देखि अंग्रेजी पात्रोअनुसार नयाँ वर्ष जनवरी १ तारिख पारेर नेपालमा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको हो । उक्त सामाजिक सञ्जालका संस्थापकद्वय डा. लेखनाथ काफ्ले र शंकर बञ्जाडे थिए । उनीहरुले नेपाली टोपी प्रतिष्ठान नामक गैर सरकारी, गैर नाफामुलक संस्था नै गठन गरेर अभियान नै चलाएका थिए ।

अभियानले अन्तर्राष्ट्रियरूपमा नेपालीपनको प्रद्र्धधन हुने र देशभित्र पनि आफ्नो संस्कृतिको थप प्रवद्र्धन र सम्वद्र्धन गर्न मद्दत पुग्ने अपेक्षा अभियन्ताहरुको छ ।

नेपाली टोपी नेपाली र नेपालीमूलका नागरिक भएका सबै स्थानहरूमा समग्र नेपालीहरूको साझा र मौलिक पहिचानको चिन्ह हो । शताब्दीऔंदेखि प्रयोग भइरहेका विभिन्न प्रकारका नेपाली टोपीहरूको प्रयोगलाई अझै व्यापक र विस्तार गरी विश्वसामु चिनाउने उद्देश्यले अहिले संसारभर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइएको छ ।टोपी दिवसको सन्दर्भमा २०७० फागुन ११ गते धरानमा आर्ट अफ लिभिङ नामक एक संस्थाले भारतीय गुरु रविशंकरलाई आमन्त्रण गर्यो । शंकरको सम्मानमा धरान–१२ को पब्लिक मैदानमा नेपाली टोपीसहित दौरा सुरुवालले स्वागत गरिएको थियो । सोही कार्यक्रममा रविशंकरले उद्घोष गरे ’नेपाली टोपी सबैले जोगाउनु पर्छ । यस्को सम्मान हुनुपर्छ । यसो गर्न अब हरेक अंग्रेजी वर्षमा हामीले नेपाली टोपी दिवस मनाउनु पर्छ ।’ यसरी पनि अभियानको सुरु भएको भनिन्छ ।

‘हामीले अरुका चाड पर्व र दिवसहरु मनायौं । तर आफ्नै मौलिकता भने बिर्सन थाल्यौं । त्यसैले अंग्रेजी नयाँ वर्षको दिनलाई टोपी दिवसका रुपमा नेपाली पहिचान स्थापित गर्न मनाउन थालिएको अभियन्ताहरुको भनाइ छ ।

त्यसो गर्दा अन्तर्राष्ट्रियरुपमा नेपालीपनको प्रवद्र्धन हुने र देशभित्र पनि आफ्नो संस्कृतिको थप प्रवद्र्धन र प्रसार गर्न मद्दत पुग्ने उनीहरुले बताएका छन् ।

टोपी नेपालीहरुको प्रतीक हो । हाम्रो ढाका र भादगाँउले टोपीले नेपाली हुनुको पहिचान थप बलियो बनाउन मद्धत गर्छ नेपाली टोपीले नेपालको नागरिक भनेर मात्र चिनाउँदैन । अभियानमा सकिन्छ भने साथ दिऔं नत्र विरोध भने नगरौं ।

मानव सभ्यता र संस्कृति विकासशील कुरा हो, त्यसैले त्यसमा अरूको सिको, प्रभाव वा नक्कल हुन पनि सक्छ । संसारका ८० प्रकारका टोपी देखाउने एउटा वेबसाइटले नेपाली ढाका टोपी संलग्न गरेको थियो तर नेपाली टोपीसग मिल्ने टोपी पाइएको छैन ।

ब्रिटिस साम्राज्यवादीहरुले समेत नेपाली टोपीको गाथालाइ इतिहासमा उल्लेख गरेको घटनाले पनि यो टोपीको आफनै मौलिक महत्व छ ।

दिवस मनाउनुको प्रमुख उद्देश्य, सो दिनलाई नेपाली टोपी दिवसको रुपमा स्थापना गर्ने तथा नेपाली टोपीलाई विश्वभर फैलिएका नेपाली वा नेपालीमूलका नागरिक एवम् सम्पूर्ण नेपालीभाषीहरुको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित गराउनु रहेको अभियन्ता डा. काफ्ले बताउँछन् ।

नेपाली टोपी प्रतिष्ठानका सल्लाहकार नवराज पोखरेलको विशेष पहलमा, हालसम्म विश्वका ४० वढी देशमा नेपाली टोपी प्रतिष्ठानका शाखा गठन हुनुका साथै थप गठन हुने प्रक्रियामा रहेको प्रतिष्ठानले जनाएको छ ।

अन्त्यमा सन् २०२२ को हार्दिक शुभकामनासहित ९ औं अन्तराष्ट्रिय नेपाली टोपी दिवसले नेपाली टोपीको पवद्र्धनमा सहयोग पुग्ने र देशभित्र पनि टोपी संस्कारले प्रोत्साहन पाउने विश्वास लिइएको छ । टोपी दिवसले नेपाली र नेपालीमूलका नागरिक भएका सबै देशमा नेपालीपनको निरन्तर खोजी, संरक्षण र प्रवद्र्धनमा सहयोग पुगोस् ।

९ औं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको शुभकामना ।

टिप्पणीहरू