नेतृत्व चयनप्रति पूर्वअध्यक्षहरुको असहमति

नेतृत्व चयनप्रति पूर्वअध्यक्षहरुको असहमति

बस्तिपुर जेसीज हाँडीखोलको वर्ष २०२२ को नेतृत्व चयनप्रति पूर्वअध्यक्षहरुले असहमति जनाएका छन् । सात जना पूर्वअध्यक्षहरुले हिजो हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै तेजप्रसाद उप्रेती (रमेश) लाई अध्यक्ष बनाइएको प्रक्रियाको विरोध गरेका हुन् । पूर्वअध्यक्षहरु दिपेन्द्रकुमार बर्तौला, बसन्तकुमार सिटौला, प्रेमप्रसाद बोलखे, विनोदकुमार बतौला, पुस्कल न्यौपाने, राममणि बर्तौला र सुनिल अधिकारीले संयुक्त पत्रकार सम्मेलन गर्दै नेतृत्व चयन प्रक्रियाप्रति असहमति जनाएका हुन् ।

अध्यक्षका अर्का उम्मेदवार गणेश अधिकारीका भाइ मोटरसाइकल दुर्घटनामा परी भरतपुरस्थित अस्पतालमा गम्भीर अवस्थामा उपचाररत रहेको अवस्थामा उप्रेतीलाई अध्यक्षमा निर्वाचित गरिएको थियो । निर्वाचन आयुक्तलाई चर्को दबाब दिएर उप्रेतीलाई अध्यक्ष बनाइएको भन्दै पूर्वअध्यक्षहरुले उक्त घटना मानवीयताविरुद्ध भएको टिप्पणी गरेका छन् । बर्तौलाले यो घटनाले मानवीयता नै हराएको पुष्टि भएको बताए ।

‘हामी लामो समयदेखि जेसीज अभियानमा छौं । मानवता प्रवद्र्धन हाम्रो मूल उद्देश्य हो,’ उनले भने,‘तर, अध्यक्षको अर्को उम्मेदवारमा त्यो भावना देखिएन । यसले हामीलाई नै जेसीजको रुपमा काम गर्न हीनताबोध गराएको छ । तेजप्रसाद उप्रेतीले गरेको व्यवहार अमानवीय र अस्वाभाविक हो । यसको हामी घोर भत्सर्ना गर्दछौं ।’ उनले अर्का उम्मेदवार अधिकारी उपस्थित नहुँदालाई अवसरको रुपमा उप्रेतीले उपयोग गरेको समेत बताए ।

यस्तै अर्का पूर्वअध्यक्ष अधिकारीले सो कार्य अपराध नै भएको टिप्पणी गरे । ‘हामीले त निर्वाचन प्रक्रिया स्थगित गर्न अर्का अध्यक्षले आग्रह गर्नुहुनेछ भन्ने सोचेका थियौं,’ उनले भने, ‘तर उहाँलाई यो अवसरको रुपमा आएको जस्तो लागेको रहेछ । यस्तो कार्य एउटा अपराध हो । मानवीयता भन्ने विषय उहाँमा रहेनछ । अब हामीले कसरी त्यो जेसीजलाई सल्लाह सुझाव दिने ?’

९० प्रतिशतभन्दा बढी सदस्यको असहमति हुँदाहुँदै पनि जबरजस्ती नेतृत्व चयन गरिएको भन्दै अर्का पूर्वअध्यक्ष बसन्तकुमार सिटौलाले उक्त प्रवृत्ति गलत भएको बताएका छन् । अहिलेको नेतृत्व चयन प्रक्रिया र नेतृत्वलाई नै मान्यता नदिन नेपाल जेसीजलाई आग्रह गरिने उनको जिकीर छ । आफूलाई दबाब दिएर गरिएको निर्वाचन प्रक्रियाप्रति असन्तुष्टि जनाएका निर्वाचन आयुक्त जयराम सुवेदीले सामाजिक सञ्जालबाट जेसीजको कुनै पनि पदमा नरहने घोषणा गरेका छन् ।

बस्तिपुर जेसीज, हाँडीखोलाको ११ औं वार्षिक साधारणसभा एवम् अधिवेशनले हिजो नयाँ नेतृत्व चयन गर्ने क्रममा रहेको अवस्थामा अधिकारीका भाइ सवार मोटरसाइकल शुक्रबार राति दुर्घटना भएको थियो । उनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

अधिकारीले उम्मेदवारी दर्ता गराएको अवस्थामा उनको सहमति विना नै अर्का उम्मेदवार उप्रेतीलाई अध्यक्ष घोषणा गरिएको हो । यस्तै, कार्यकारिणी उपाध्यक्षका उम्मेदवार विजय पौडेलको असहमतिमा प्रेम गोंबा र अमृत पाठकलाई कार्यकारिणी उपाध्यक्ष घोषणा गरिएको छ । सोही निर्वाचन प्रक्रियालाई लिएर पूर्वअध्यक्षहरुले विरोध जनाएका हुन् ।

टिप्पणीहरू