मेसमा थाल थाप्दै कमरेड प्रचण्ड,सङ्गै खाएर मात्रै पार लाग्छ ?

मेसमा थाल थाप्दै कमरेड प्रचण्ड,सङ्गै खाएर मात्रै पार लाग्छ ?

नेकपा (माओवादी केन्द्र) को जारी आठौँ राष्ट्रिय महाधिवेशनमा नेताहरुको आचरण र कार्यशैलीलाई लिएर प्रतिनिधिहरुले तिखा प्रश्न उठाए । जनयुध्दका बेला सामान्य जीवनशैली अपनाउने गरेका नेताहरु खुला राजनीतिमा आएसँगै आफ्नो हैसियत भुलेर अस्वभाविक जीवनयापन गर्ने गरेको भन्दै महाधिवेशनमा चर्को आलोचना पनि भयो ।

मूल नेतृत्वका रुपमा यस्ता प्रश्नको बढी सामना स्वयं प्रचण्डले गर्नुपर्यो । नेताहरुका कार्यशैली,आचरण र जीवनयापनलाई लिएर प्रतिनिधिहरुका कडा प्रश्नको सामना गरेका नेताहरुले सुध्रिने मौखिक वाचा पनि गरे ।

कार्यकर्ताले मात्र होइन,स्वयं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि पार्टीका नेता-कार्यकर्ताको अस्वभाविक जीवनशैलीमाथि निर्मम आलोचना गर्नुभएको थियो । महाधिवेशनबाट पारित प्रचण्डको राजनीतिक प्रतिवेदनमा नेताहरुको आचरण र जीवनशैलीमाथि प्रश्न उठाउनुका साथै आ-आफ्नो ठाउँमा सबै सच्चिनुपर्नेमा जोड दिइएको छ ।

प्रचण्डको प्रतिवेदनमा नेताहरुले कार्यशैली र आचरण सुधार्नुपर्ने भनिए पनि माओवादी कार्यकर्ताहरु आश्वस्त हुन् सकेका छैनन् । यहि मनोविज्ञान बुझेर होला अध्यक्ष प्रचण्ड,नेता नारायणकाजी श्रेष्ठलगायतका नेताहरुले आज कार्यकर्तासंगै बसेर मेसमा खाना खाएका छन् । सायद आफ्ना प्रतिवद्धताको व्यवहारिक पुष्टिको सन्देश दिने प्रयासस्वरूप यस्तो गरिएको होला ।

समाजवादको तयारीमा जुट्ने उद्घोष गरिएको प्रचण्डको प्रतिवेदनमा केन्द्रीय नेताहरुसमेत अनिवार्य श्रममा जोडिनुपर्ने भनिएको छ । त्यस्तै, काठमाडौँ केन्द्रित केन्द्रीय सदस्यहरुलाई अनिवार्य आ-आफ्नो फिल्डमा खटिनुपर्नेमा पनि जोड दिइएको छ ।

प्रतिवेदनमा लेखिएका कुराको व्यावहारिक कार्यान्वयन हुनेमा आशंका भैरहेका बेला कार्यकर्तासँगै मेसमा खाना खाएर माओवादी नेताहरुले त्यस्ता आशंका मेट्ने संकेत त दिएका छन् । तर,अनिवार्य सामूहिक श्रममा जोडिने,गाउँ जाने, रजनतासँगै बस्ने प्रतिवेदनमा भनिएका कुरा कार्यान्वयन हुन्छ कि हुँदैन त्यो भने निकट भविष्यमा थाहा हुनेछ ।

टिप्पणीहरू