गोडाले घाँटी थिचेर सुत्केरी श्रीमतीको हत्या

गोडाले घाँटी थिचेर सुत्केरी श्रीमतीको हत्या

गत शुक्रबार राति आफ्नै घरको कोठामा झुण्डिएर मृत्यु भएकी भनिएकी जिल्लाको बाँफिकोट गाउँपालिकाकी एक महिलाको हत्या भएको रहस्य खुलेको छ । बाँफिकोट गाउँपलिका ९,निवासी २६ वर्षीया कमला खनाललाई उनकै श्रीमानले कर्तव्य गरेर मारेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका निरीक्षक डेकेन्द्र शर्माका अनुसार प्रारम्भिक अनुसन्धानबाट कमलाका श्रीमान दिपक खनाल भन्ने दलजित खनालले घाँटी थिचेर हत्या गरेको खुल्न आएको छ । रक्सी सेवन गरेका उनले गोडाले घाँटीमा टेकेर श्रीमतीलाई मारेपछि उनकै बर्को (सल) तानेर झुण्डाइदिएका थिए ।

शुक्रबार राति १० बजे दिपकले श्रीमतीको हत्या गरेपछि परिवारका अन्य सदस्यहरुलाई कमलाले आत्महत्या गरेको बताएका थिए ।

उनीहरु खाना खाएर सुत्न गएका र परिवारका अन्य सदस्य भान्सामै रहेको बेला उक्त घटना भएको थियो । दम्पती एउटै कोठामा रहेको बेला श्रीमती कसरी झुण्डिएर मरिन् भन्ने आशंकामा परिवारका सदस्यले त्यतिबेलै दिपकप्रति शंका गरेका थिए । उनीहरुको चार महिनाको छोरीसमेत छ ।

प्रहरी निरीक्षक शर्माको नेतृत्वमा खटिएको अनुसन्धान टोलीले दिपकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ ।

पक्राउ परेका दिपकलाई जिल्ला अदालत रुकुमबाट १० दिनको म्याद लिएर घटनाको थप अनुसन्धान गरिएको बताइएको छ । पोष्टमार्टम रिपोर्टपछि घटनाबारे थप स्पष्ट हुने प्रहरी निरीक्षक शर्माले बताउनुभयो । बयानका क्रममा दिपकले हत्या गरेको स्वीकारेका छन् ।

टिप्पणीहरू