हिउँमा फसेका १४ मजदुर उध्दारको पखाईमा

हिउँमा फसेका १४ मजदुर उध्दारको पखाईमा

सडक निर्माणको काममा खटिएका रुकुम पूर्वका १४ जना कामदार एक सातादेखि हिउँमा फसेका छन् । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका २,पेल्माको घुसदुङमा १४ जना मजदुर सात दिनदेखि हिउँमा फसेर अलपत्र परेका हुन् ।

गाउँपालिकाको वडा नम्बर २ मा स्थानीय सडक निर्माणका लागि खटिएका उनीहरु गत १३ र १४ गते बाक्लो हिउँ परेपछि बसिरहेकै ठाउँमा फसेका हुन् ।

गाउँपालिकाको योजनाअन्तर्गत बाटो निर्माणमा खटिएका उनीहरु बाक्लो हिउँका कारण कतै पनि जान सकेका छैनन् । वडा नम्बर २ का वडा सदस्य मनराम झाँक्रीका अनुसार उनीहरु काम गर्ने ठाउँमै फसेको हिजो मात्रै खबर आएको छ ।

हिउँमा फसेकामध्ये १० जना पुरुष र ४ जना महिला छन् । वडा नम्बर २ पेल्मा गाउँका जोकप्रशाद बुढा, औँसी बुढा, विशाल बुढा, दयालाख कामी, रमजित कामी, जानि बुढा, कृष्ण बुढा, दीपक कामी, सुनिल झाँक्री, जुनदेबी झाँक्री, प्रेमबहादुर कामी, बहादुर बुढा, नवीन बुढा, नान्तेन पुन सात दिनदेखि ओढारमा बसेर दिन रात कटाइरहेका छन् । उनीहरुको साथमा रहेको रासन सकिएपछि थप समस्या भएको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले आइतबार बेलुका मात्रै खबर आएकाले उद्धारको पहल भइरहेको जानकारी दिनुभयो । हिउँमा फसेका मजदुरको उद्धारका लागि गृहमन्त्रालय,प्रदेश मन्त्रालयमा हेलिकोप्टर पठाउन आग्रह गरिएको र आजै उद्धार हुने प्रजिअ बास्कोटाले बताउनुभयो ।

शुरुमा हिउँ पग्लने आशमा खबर नगरेको र बाक्लो हिमपात भएपछि गोठ वा ओढारको सहायतामा उनीहरु त्यहिँ बसेको सूचना प्राप्त भएको प्रजिअको भनाइ छ । उद्धारमा सुर्खेतबाट हेलिकोप्टर ल्याउने तयारी भएको पनि उहाँले जानकारी दिनुभयो । आज उद्धार भइसक्ने समेत प्रजिअ बास्कोटाले उल्लेख गर्नुभयो ।

टिप्पणीहरू