नेपाली नोटमा राजाको फोटो राख्न रविन्द्र मिश्रको माग

नेपाली नोटमा राजाको फोटो राख्न रविन्द्र मिश्रको माग

वैकल्पिक राजनीति भन्दै राप्रपाको लाइनमा पुगेको रविन्द्र मिश्र नेतृत्वको विवेकशील शाझा पार्टीले नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्बिर अंकित गर्न माग गरेको छ । पृथ्वी जयन्तीको सन्दर्भ पारेर पार्टीले आज सार्वजनिक गरेको विज्ञप्तिमा यस्तो माग गरिएको हो ।

विवेकशीलले पृथ्वी जयन्तीका दिन मनाइने गरेको राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस’ का रूपमा मनाउन पनि सरकारसँग माग गरेको छ । प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ’पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस (ल्भउब िम्बथ)’ का रूपमा मनाइयोस् ।’

संसारका कुनै पनि एकीकरणकर्ता विवादरहित नहुने भन्दै विज्ञप्तिमा तिनै विवादलाई लिएर पृथ्वीनारायण शाहको अवमूल्यन गर्नु उपयुक्त नहुने बताइएको छ । पृथ्वीनारायणको दूरदर्शिता र दिव्य उपदेश शान्त, स्वाभिमानपूर्ण, सार्वभौमसत्ता सम्पन्न र समृद्ध नेपाल निर्माणका लागि आज पनि उत्तिकै सान्दर्भिक रहेको विवेकशीलको ठहर छ ।

राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिन आफूहरुले विगतमा पनि माग गरेको विज्ञप्तिमा स्मरण गराइएको छ । ‘अनावश्यक रूपमा अनेकौँ बिदाहरू दिएर राष्ट्रिय एकता दिवसमा दिइने सार्वजनिक बिदा कटौती गर्नु अत्यन्तै खेदजनक विषय हो’, भनिएको छ ।

नेपाली नोटमा पृथ्वीनारायणको तस्वीर अंकित गर्न र हरेक सरकारी कार्यालयमा ससम्मान उनको फोटो राख्न आवश्यक निर्देशन दिनका लागि सरकारसँग विवेकशीलले माग गरेको छ ।

पृथ्वी जयन्तीको अवसर पारेर विवेकशीलले पुस २७ गतेदेखि ‘मेची–महाकाली राष्ट्रिय एकता यात्रा’ सुरु गर्दैछ । उक्त यात्रा माघ १६ गते शहीद दिवसका दिन अन्त्य हुनेछ ।

यता, पृथ्वी जयन्ती मनाउने अध्यक्ष मिश्रको निर्णयप्रति विवेकशीलकै अर्को खेमा भने असन्तुष्ट छ । मिश्रद्वारा हालै कारवाही गरिएका संयोजक मिलन पाण्डे समूहले अध्यक्ष मिश्र राजतन्त्रको पक्षमा उभिएको आरोप लगाएका छन् ।

मिश्रले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता खारेजीसहितको राजनीतिक प्रस्ताव पारित गराएपछि असन्तुष्ट रहँदै आएको पाण्डे समूहले अलग्गै भेला, बैठक गरिरहेको छ । मिश्रले भने यसअघि नै आफूपक्षीय नेताहरुलाई समावेश गरेर छुट्टै केन्द्रीय कमिटी गठन गरिसकेका छन् । निर्वाचन आयोगले मिश्र नेतृत्वको केन्द्रीय कमिटीलाई वैधानिकता दिएको छ ।

टिप्पणीहरू