कम्युनिष्टमा नेवार अचेल किन कम ?
- राजकुमार दिक्पाल
आफू अखिलको सक्रिय कार्यकर्ता भइहिँड्दा लाग्थ्यो, धनकुटाको बजार क्षेत्रका नेवार खलक किन वामपन्थी नभएका होलान् ? शिवकुमार श्रेष्ठ (सहप्राध्यापक, इतिहासकार तथा लोकसाहित्यकार), ईश्वरकुमार श्रेष्ठ (सहप्राध्यापक तथा प्राडा दयाराम ‘सम्भव’ का भाइ) र पूर्णकृष्ण श्रेष्ठ (त्रिवि कर्मचारी)लाई मात्र देखिन्थ्यो, सक्रियताको हिसाबले । माथिल्लो कोप्चेका रुद्र श्रेष्ठको सक्रियता थियो । लाग्थ्यो, धनकुटा नगरको कोर बजार क्षेत्रमा यति नै हुन् वामपन्थीहरू ।
त्यो समय संस्कृतिकर्ममा मेरो आफ्नो रुचि भएका कारण पनि तत्कालीन जनसाँस्कृतिक मञ्च धनकुटाको अध्यक्षका रूपमा ईश्वरकुमार श्रेष्ठ (इशदिव) र कलाकार श्रीकृष्ण जोशीलाई कोषाध्यक्षको रूपमा भएको प्राप्ति निकै महत्वपूर्ण थियो । किनकि धनकुटा बजार क्षेत्रबाट नेवार जातिको कार्यकर्ता झण्डै अप्राप्य थियो ।
धनकुटा बहुमुखी क्याम्पसमा अखिलको वर्चस्व हुँदाहुँदै पनि हामीले कुटाइ खाइराख्नुपर्ने बाध्यता थियो । तर, बजारबीचबाटै सुजनभाइ जोशीको सक्रियतापछि नेविसंघले कुटाई खाने दिन शुरु भयो । मनमोहन अधिकारीका पुराना कार्यकर्ता भरतकृष्ण जोशीका यी सुपुत्रको अखिलमा भएको उदयसँगै धनकुटा नगरको विद्यार्थी राजनीतिमा शान्ति स्थापना भएको हो ।
गौरवपूर्ण त्यो योगदान
शिवकुमार श्रेष्ठ नेकपा, धनकुटाको संस्थापक सचिव हुनुहुन्छ । २०१५ सालको निर्वाचनमा नेकपाका तर्फबाट भरतराज जोशीलाई खडा गरियो । त्यो बेला निलम श्रेष्ठ असाध्यै सक्रिय कार्यकर्ता । इलाम बस्ने बडाहाकिमविरुद्धको आन्दोलनलाई सघाउन धनकुटाबाट गएका शिवकुमार श्रेष्ठ र घुमाउने चौतारानिवासी दीपबहादुर श्रेष्ठलाई बिर्सिइने छैन ।
२०१२ सालमा कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लाग्यो । त्यसको खुलेर कसैले विरोध गर्न सकेनन् । तर, बजार क्षेत्रमा यस्ती महिला देखा परिन्, एक्लैले त्यसको विरोध गर्ने सरला कायस्थ । धनकुटाको सम्भ्रान्त अमात्य परिवारकी छोरी उहाँको धरानका कायस्थसँग बिहे भएको थियो । उहाँको हालसम्मको जीवन नेपाल रेडक्रस सोसाइटीमा समर्पित छ ।
धनकुटाको अमात्य परिवारबाटै हालः एकजना सरकारी सेवाको विशिष्ट पदमा हुनुहुन्छ । डिआईजी दिनेश अमात्य । पञ्चायतकालमा अखिलको सक्रिय कार्यकर्ता । ०३६ सालताका गोकुण्डेश्वर माध्यमिक विद्यालयमा प्रारम्भिक कमिटीको सदस्य । ०३८ सालमा प्रगतिशील लेखक कलाकार संघको पहिलो धनकुटा जिल्ला सम्मेलनमा उहाँले दिनुभएको जिन्सी सहयोगको लिखत बाल्यकालमै पढ्न पाएको थिएँ । उहाँ माथिल्लो कोप्चेको ।
तल्लोकोप्चेमा एक जना पहलमान साहु हुनुहुन्थ्यो । उहाँका जेठा छोरा विजय प्रधान पनि घरको प्रतिकूलताका बाबजुद वामपन्थी आन्दोलनमा जोडिनुभयो । विजयका माहिला भाइ विकासचाहिँ धनकुटा बहुमुखी क्याम्पसको पहिलो स्ववियु निर्वाचनमा तत्कालीन अखिल सभापति उम्मेदवार नारायण डाँगीबाट पराजित हुनुभयो । विकासचाहिँ नेविसंघबाट उम्मेदवार ।
गजराम योगी अलि उपेक्षित नेवारजस्तो लाग्थ्यो । टुँडिखेलदेखि अलि पर उहाँको घर । कुनै जमानामा दार्जिलिङबाट एसएलसी पास गर्नुभएका उहाँले २००८ सालमा जगन्नाथ पोखरेल र नरबहादुर कुथुमीबाट नेकपाको सदस्यता लिनुभयो । दिवंगत भइसक्नुभयो । उहाँका छोराहरूले नै शुरुआत गरेका हुन्, धनकुटा र सुनसरीको सिमानामा रहेको पर्यटकीयस्थल भेडेटारमा आधुनिक होटल व्यवसाय ।
तल्लोकोप्चेकै एक जना नन्दगोपाल श्रेष्ठ पनि बहुदल आएपछि एमालेको जुलुसमा सक्रियतापूर्वक हिँडेको देख्थेँ । नन्दगोपाल श्रेष्ठ नामका उहाँ २००८ सालतिरै कम्युनिष्ट भइसक्नुभएको रहेछ । धनकुटाको वाम आन्दोलनमा बिर्सन मिल्दैन तल्लोकोप्चेका बिर्खबहादुर श्रेष्ठलाई पनि ।
धनकुटा छारागाउँका एक जना कम्युनिष्ट कार्यकर्तालाई क्षयरोगले छोएछ । उपचारको प्रबन्ध मनमोहन अधिकारीबाट भयो । उनलाई चीन पठाइयो । निको भएर फर्किए । उनै कर्णबहादुर श्रेष्ठले कम्युनिष्ट पार्टीप्रति सद्भाव व्यक्त गर्दै छोरीहरूमध्ये एकको ‘चाइना’ अनि अर्कीको ‘रसिया’ नाम राखिदिए ।
मनमोहन अधिकारी भूमिगत हुँदादेखि प्रधानमन्त्रीसम्म हुँदा अधिकारीको सेवा गरिरहने केदार श्रेष्ठ धनकुटा तल्लोकोप्चेका हुन् भन्ने पनि बिर्सनु हुँदैन ।
कम्युनिष्ट पाल्ने साहुहरू
वाम नेता जीवप्रसाद पोखरेल माथिल्लो कोप्चेस्थित दियाले साहुको घरमा पुग्नुभएछ । यस घरका माहिला छोरा माणिक श्रेष्ठ रिसले चुर ! कुरा के परेछ भने उनलाई कसैले ‘बेइजिङ रिभ्यू’को केही पृष्ठ अनुवाद गर्न दिएछन् । रातारात गरी अनुवाद कार्य सकियो, तर जिम्मा लाउने व्यक्ति अनुवाद गरिएको कपि लिन आउँदैनन् !
आफ्नो पढ्ने र लेख्ने समय कटाएर गरिएको त्यो अनुवाद कार्य बुझ्ने व्यक्ति केही दिनपछि मात्र आउँदा माणिकले डाइलग मारे, ‘तपाईंहरूजस्तो मान्छेले पनि यसो गर्ने ?’
कपी बुझ्नेले क्षमा मागे र सर्सरी अनुवाद कपी पढे । त्यसपछि सम्पर्क व्यक्ति जीवप्रसाद पोखरेलतिर हेर्दै भने, ‘वाह, यति कम पढेका विद्यार्थीले पनि यति राम्रो उल्था गरेछन् । कहीँ–कतै गल्ती छैन ।’
यसो भन्नेचाहिँ धनकुटा जिल्लाका तत्कालीन सचिव चित्र निरौला । उहाँ आफैं पुरेत लाहुरेका छोरा, अंग्रेजीमा पोख्त ।
मैले पनि माणिक श्रेष्ठको मेधावीपनबारे प्रशस्तै सुनेको छु, तर भेट्न पाएको छैन । दियाले साहुको घरले त मदन भण्डारीसम्मलाई आश्रय दिएको छ ।
माणिकका दाजु ज्ञानेन्द्र र भाउजू मनका पार्टीप्रति समर्पित हुनुहुन्थ्यो । त्यही भएर उहाँका बुवा दियाले साहुको घरमा नेताहरू आश्रित हुन पाउँथे, भूमिगतकालमा ।
हरेक चुनावमा एकजना मोटो व्यक्ति पार्टीलाई सघाउन हप्ताअघि नै धनकुटा आउँथे । बजार क्षेत्रका नेवारमध्येले हँँँसिया हथौडाअंकित झण्डा समाएर जुलुसमा हिँँडेको देख्दा आश्चर्यचकित खुशी उर्लन्थ्यो मनमा । उहाँको नाम हो अशोक श्रेष्ठ ।
किन्ताङे साहुको घरमा त्यो बेला पार्टीले सेल्टर त पाएन, तर राम्रा कार्यकर्ता पाए । साहुका छोरा चन्द्र र अशोक श्रेष्ठ । अनि हाल ललितपुर क्षेत्र नम्बर ३ की प्रदेशसभा सभासद् देवकी श्रेष्ठ किन्ताङे साहुकै सन्तान ।
धनकुटाका साहुमध्ये कृष्ण साहुलाई कसरी बिर्सने ? धनकुटामा त्यो बेला सबैभन्दा ठूलो होटल नै कृष्ण साहुको थियो, ‘कृष्ण होटल’ । हालः ‘सुरभी होटल’ । यस घरकी एक चेलीले धनकुटा नगरमा वाम आन्दोलनको इज्जत राखेकी छन् । सावित्री शाक्य धनकुटा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा अखिलका तर्फबाट निर्वाचित कोषाध्यक्ष ।
यसैगरी, काठमाडांै महानगरपालिका–३३ बाट ०५४ सालमा साविकको एमालेबाट निर्वाचित रञ्जना मास्के पनि धनकुटाकी चेली, भरतकृष्ण जोशीकी बहिनी । तर, अहिले बजार क्षेत्रमा किन नेवार कम्युनिष्ट कार्यकर्ता भेटिँदैन, नेतृत्वले खोजी गर्नु पर्दैैन ?
टिप्पणीहरू