मारुती सिमेन्ट झन झनै बदनाम, भत्काउनै पर्ने काम

मारुती सिमेन्ट झन झनै बदनाम, भत्काउनै पर्ने काम

इलाम नगरपालिका र माइजोगमाई गाउँपालिका जोड्ने माइखोला दुधाङको पक्की पुल निर्माणमा चरम लापरबाही भएकोे छ । दुई वर्षमा निर्माण सम्पन्न हुने गरी ठेक्का दिइएको उक्त पुल आठ वर्ष बित्न लाग्दासमेत सकिएको छैन । पुलको २५ प्रतिशतभन्दा बढी काम अझै बाँकी छ ।

पुल निर्माणमा गुणस्तरहीन काम भएको स्थानीयले बताएका छन् । अहिले इलाम नगरपालिकातर्फको पुलको भित्तामा पर्खाल लगाउने काम भइरहेको छ । खोलाबाट पुललाई जोगाउन लगाइएको पर्खालमा दुई वर्षअगाडि बिग्रिएर चट्टान भएको मारुती सिमेन्ट ह्यामरले फूटाएर मसला बनाउने काम भइरहेको छ ।

फ्रेस सिमेन्ट प्रयोग नभएकाले लगाइएको पर्खाल झन कमसल देखिएको छ । सोमबार स्थानीयबासी र जनप्रतिनिधिहरु निर्माणस्थल पुग्दा कंक्रिट र चट्टान भएको सिमेट ढुट्याएर मसला बनाई पर्खालमा प्रयोग भइरहेको भेटिएको थियो । बिग्रिएर फालिएको सिमेन्ट प्रयोग गरिएकाले पर्खाल अहिले नै भत्कने अवस्थामा पुगेको स्थानीय झम्कबहादुर श्रेष्ठ बताउँछन् ।

ठेकेदारले पचासौं बोरा बिग्रिएको सिमेन्ट लगाएर पुल निर्माण गरिरहेको उनले बताए । बिग्रिएको सिमेन्ट प्रयोग गरेर पुल निर्माण गरिएको पाइएपछि स्थानीयले पर्खालको केही भागसमेत भत्काएका छन् । कामदारको अनुरोधमा स्थानीयले पर्खाल पूरै भने भत्काएका छैनन् । विगतमा पनि यसरी नै गुणस्तरहीन काम गरेकाले वर्षा याममा निर्माणाधीन पुल एक पटक बगेको पनि श्रेष्ठले बताए । पर्खाल लगाइरहेका कामदारले ठेकेदारले बिग्रिएको सिमेन्ट मिसाउनु भनेकाले बिग्रिएको सिमेन्ट प्रयोग गरेको बताएका छन् ।

इलाम नगरपालिकाका प्रवक्ता एवम् इलाम नगरपालिका ५ का वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठले पनि बिग्रिएको सिमेन्ट ढुट्याएर पर्खाल जोड्न प्रयोग भइरहेको पाइएको बताउनुभएको छ । उहाँले मुख्य ठेकेदारको फिल्ड हेर्ने व्यक्ति पूर्ण गिरीलाई समेत बिग्रिएको सिमेन्ट प्रयोग गरेर निर्माण गरिएको पर्खाल भत्काउन भनिएको जानकारी दिनुभयो । पुलको एकातर्फको किनारा खोलाबाट बचाउन निर्माण गरिएको पर्खाल नै यसरी लापरबाही ढंगले निर्माण गरिएकाले पुलको आयुसमेत नहुने अध्यक्ष श्रेष्ठले बताए ।

पुल निर्माणको तालुक अड्डा सडक डिभिजन कार्यालय इलामका इञ्जिनियरलाई साइट हेर्न बोलाउँदा समेत नआउने गरेको स्थानीयको गुनासो छ । ठेकेदार र कार्यालयको मिलेमतोमा गुणस्तरहीन काम भइरहेको स्थानीयको आरोप छ । ‘पटक पटक फोन गरेर साइट हेर्न बोलाउँदा पनि कार्यालयका इञ्जिनियर अहिलेसम्म आएका छैनन् ।’ एक स्थानीयले भने, ‘पुलको गुणस्तरीयतामा कार्यालयले ध्यानै दिएको छैन ।’ यसअघि लगाइएको पुलको बेसको पर्खाल पनि भत्कन शुरु भएको छ । यसअघि पनि यसरीनै लापरबाही ढंगले काम भएकाले पुल बनिनसक्दै भत्कन थालेको स्थानीय बताउँछन् ।

२०७१ साल असार २७ गते ठेक्का सम्झौता भएको पुनः निर्माणको अवधि २०७३ असार २६ गतेसम्म रहेको थियो । तर, त्यसपछि दुई पटकसम्म म्याद थप गर्दा पनि पुल निर्माण सम्पन्न हुन सकेको छैन । लामो समयसम्म पुल नबन्दा सर्वसाधारणले सास्ती व्यहोर्दै आएका छन् । बर्खा लागेपछि पुल अभावकै कारण सडक अवरुद्ध हुने गरेको छ ।

माइजोगमाईको केन्द्र नयाँबजार र इलाम सदरमुकामको दूरी २२ किलोमिटर छ । तर पुल नबनेका कारण बर्खामा फिक्कल हुँदै ६० किलोमिटर दूरी पार गरेर सदरमुकाम आउनु पर्ने बाध्यता छ ।

पुल निर्माणको ठेक्का नेशनल निलगिरी जेभीले ६ करोड १२ लाख ९२ हजार रुपैयाँमा लिएको हो ।

टिप्पणीहरू