अमेरिकी भीसा लाग्छ भन्दैमा अरुलाई झुण्ड्याउने ?
संखुवासभाको चिचिला गाउँपालिकाले झण्डै एक करोड रुपैयाँ खर्चमा अमेरिका भ्रमणको चाँजोपाँजो मिलाएपछि चौतर्फी विरोध भएको छ । पालिकाका अध्यक्षसहित संवैधानिक आयोगका प्रतिनिधिहरु सम्मिलित टोलीलाई अमेरिका भ्रमणमा लैजान पालिकाले ७७ लाखको बजेट व्यवस्था गरेको थियो ।
आउँदो माघ ४ र ५ गते सिकागोमा हुने छैटौं स्मार्ट सिटिज टेक्नोलोजी सिम्पोजियम एन्ड एक्जिबिसनमा भाग लिन जाने टोलीको खर्च विवरण सार्वजनिक भएसँगै सर्वत्र विरोध भएको हो ।
गाउँपालिकाले नौ जनाको टोली अमेरिका पठाउन ७६ लाख ९६ हजार ५० रुपैयाँको अनुमानित खर्च पारित गरेको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पा,राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा,राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडा, महिला आयोगकी उपसचिव अञ्जु ढुंगाना,नायब सुब्बा मृगेन्द्र न्यौपाने, शेर्पाका छोरा थिलेन शेर्पा,नरेश रिजाल,सुजिना भट्ट र दिपेश रिजाललाई पठाउने निर्णय गरिएको छ ।
दलित आयोगका अध्यक्ष विश्वकर्मा, महिला आयोगकी सदस्य पौडेल, चिचिला गाउँपालिकाका अध्यक्ष शेर्पागरी तीन जनाले १० दिनको दैनिक भ्रमण भत्तावापत प्रतिव्यक्ति प्रतिदिन २ सय २५ डलर पाउने निर्णयमा उल्लेख छ । त्यसैगरी ढुंगाना,थिलेन,रिजाल,न्यौपाने,भट्ट र दिपेशले प्रतिदिन ९० अमेरिकी डलरका दरले भत्ता पाउने गाउँपालिकाको निर्णय छ ।
भ्रमण र भ्रमण खर्चका बारेमा चर्को विरोध भएपछि अध्यक्ष शेर्पाले प्रेस विज्ञप्ति जारी गरेर खण्डन गरेका छन् ।
कार्यक्रमको निम्तो आएपछि संवैधानिक आयोगका पदाधिकारीहरूसमेत सहभागी गराउने र व्यक्तिगत खर्चमा जाने प्रक्रिया अघि बढाइएको अध्यक्ष शेर्पाले बताएका छन् । उनले भने, ‘संवैधानिक आयोगका पदाधिकारीहरूलाई टोलीमा राख्दा भिसा (प्रवेशाज्ञा) लाग्ने सम्भावना बलियो हुने भएकाले उनीहरूलाई संलग्न गर्न खोजिएको हो ।’
टिप्पणीहरू