खुट्टा काटेर गोठबाटै खसी चोरियो
बैतडीमा खसी चोरले गाउँलेहरुलाई हैरान बनाएका छन् । दुःख गरेर पालेका खसी रातारात गायब हुन थालेपछि गाउँलेहरु त्रसित भएका हुन् ।
पाटन नगरपालिका–५, क्वापानी गाउँबाट अस्ती राति २ वटा खसी चोरी भयो । स्थानीय जयबहादुर चन्दको घरबाट ती दुई खसी चोरी भएका थिए । राति २ बजेतिर आएको अज्ञात समूहले खसी लगेको उनका छोरा मनोज चन्दले बताए ।
दुई वटा खसीको मूल्य करिब ५० हजार पर्ने स्थानीय विवेकानन्द पाण्डेयले बताए । उनका अनुसार यसअघि पनि गाउँमा पटक–पटक खसी चोरी हुने गरेको थियो ।
उनले भने, ‘यसरी पटक पटक गाउँबाट खसी चोरी हुन थालेपछि स्थानीय त्रसित बनेका छन् । चोरी रोक्न प्रहरी प्रशासन चनाखो हुनु पर्यो । सरकारले पीडित परिवारलाई राहत पनि उपलब्ध गराउनु पर्यो ।’
प्रहरीले भने खसी चोरीको विषयमाथि अनुसन्धान भइरहेको जनाएको छ । गतसाता दशरथचन्द नगरपालिका–४, बाडीलेकका एक किसानले गोठमा बाँधेको खसीको दुई वटा खुट्टा काटेर मारेको अवस्थामा भेटिएको थियो ।
स्थानीय नैनराम भुलको गोठमा बाँधेको खसीको खुट्टा काटेर लगेको अवस्थामा भेटिएको अभियन्ता राजुराम भुलले बताए । पछि गोठमा आधा मात्रै खसी भेटिएको थियो ।
यसैगरी, गतवर्ष साहीलेकका एक व्यक्तिको खसी चोरेर बजारमा बेचेको भेटेपछि दोषीमाथि कारवाही गरेको स्थानीय देवराम लोहारले बताए ।
टिप्पणीहरू