निमित्त वन निर्देशक विष्ट भ्रष्टाचार मुद्दामा डामिए

निमित्त वन निर्देशक विष्ट भ्रष्टाचार मुद्दामा डामिए

वन निर्देशनालय धनगढीका निमित्त वन निर्देशक हेमराज विष्टविरुद्ध करिब सात करोड रुपैयाँ भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा उनीविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारले दायर गरेको अभियोग पत्रमा विष्टले आफ्नो अख्तियारीको दुरुपयोग गरि अकूत सम्पत्ति आर्जन गरेको दाबी गर्दै कारबाहीको माग गरिएको छ । विष्टले सार्वजनिक पदमा बहाल रहँदाको अवधिमा ६ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ ६० रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट पत्ता लागेको आयोगले बताएको छ ।

यसअघि संसद्को सार्वजनिक लेखा समितिले पनि विष्टले अनियमितता गरेको ठहर गर्दै छानबिन गर्न सिफारिस गरेको थियो । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमअन्तर्गत सामुदायिक वन उपभोक्ता समूहका सदस्य र पदाधिकारीहरुको किर्ते दस्तखत गर्ने, नक्कली वन उपभोक्ता घरधुरी खडा गर्ने र एउटै घरलाई एकभन्दा धेरै उपभोक्ता सदस्य बनाई रुख कटान गर्ने कार्यमा विष्टको संलग्नता देखिएको लेखा समितिद्वारा गठित वैज्ञानिक वन व्यवस्थापन अध्ययन उपसमितिले निश्कर्ष निकालेको थियो । अहिले त्यसैका आधारमा अख्तियारले अनुसन्धान गरेको हो ।

२०५५ बैशाख ७ गते सहायक वन अधिकृत प्राविधिक पदबाट सेवा प्रवेश गरेका विष्ट २०६८ चैत ६ गते जिल्ला वन अधिकृत राजपत्राङ्कित द्वितिय श्रेणीमा बढुवा भई हाल सुदुरपश्चिम प्रदेश सरकार, वन निर्देशनालयमा निमित्त वन निर्देशक पदमा कार्यरत छन् ।

उनले सार्वजनिक पदमा बहाल रहँदा जाँच अवधि (मिति २०५५।०१।२७ देखि २०७७।०७।१७ सम्म) मा सिर्जित सम्पत्ति एवम् खर्च तथा कूल लगानी र सोही अवधिको आय व्ययको प्रवाह विवरणअनुसार झण्डै सात करोड रुपैयाँ भ्रष्टाचार गरेको खुल्न आएको हो ।

अख्तियारका अनुसार जाँच अवधिमा स्रोत खुल्न आएको उनको वैध आय १७ करोड ३७ लाख १२ हजार ६ सय २९ रुपैयाँ छ भने २४ करोड २४ लाख ६९ हजार ७ सय ९ रुपैयाँ खर्च तथा लगानी गरेको देखिएको छ ।

टिप्पणीहरू