शिक्षामन्त्री पौडेल काठमाडौं मेडिकल कलेजमा
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल काठमाडौं मेडिकल कलेज (केएमसी) पुग्नुभएको छ । केएमसीले अतिरिक्त शुल्क लिएको विषय बाहिरिएपछि मन्त्री पौडेल अनुगमनका लागि भक्तपुरस्थित मेडिकल कलेज पुग्नुभएको हो ।
उहाँले कलेज प्रशासन, विद्यार्थी र जिल्ला प्रशासन कार्यालय भक्तपुरबीच आवश्यक छलफल गरेर कलेजले लिइरहेको शुल्कबारे भोलिसम्म प्रतिवेदन पेश गर्न निर्देशन दिनुभएको छ । विद्यार्थीहरूले कलेजले होस्टल शुल्कसमेत बढी लिएको गुनासो गरेका छन् ।
‘विद्यार्थीहरूले कलेजले बढी शुल्क लियो भन्ने गुनासा गरेका छन् । मन्त्रालयमा उजुरी पनि परेको छ,’ मन्त्री पौडेलले भन्नुभयो, ‘सञ्चार माध्यममासमेत कलेजले अतिरिक्त शुल्क लिएको खबर छ । नियमभन्दा बाहिर गएर शुल्क लिएको पाइएमा कारबाही हुन्छ ।’
कलेजले अतिरिक्त शुल्क लिएको विरोधमा अखिल क्रान्तिकारी, नेविसंघ तथा अभिभावकहरूले विरोध प्रदर्शन गरिरहेका छन् ।
टिप्पणीहरू