हजुरबा–नाति नै लागुऔषध कारोबारी

हजुरबा–नाति नै लागुऔषध कारोबारी

लागुऔषध (गाजा) बेचबिखन आरोपमा प्रहरीले हजुरबा र नातिलाई पक्रेको छ । महोत्तरीस्थित गौशाला नगरपालिका–४ रजखोर बस्ने ७० वर्षीय रामचन्द्र साह र उनका २१ वर्षीय नाति रोहित साहलाई प्रहरीले लागुऔषध बिक्री वितरणको आरोपमा समातेको हो ।

उनीहरुसँगै अन्य दुई जना पनि सोही आरोपमा समातिएका छन् । सोही वडाका ५३ वर्षीय उपेन्द्र साह र उनका १९ वर्षीय छोरा विवेक साहलाई हिजो राति पक्राउ गरेको बताइएको छ ।

इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागुऔषधसहित फेला पारेको हो । रामचन्द्र साहको घरबाट बिक्रीको लागि पुरिया बनाइएको गाजा तीन केजी, डिजिटल तराजु एक थान बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

अस्ति बेलुकी साढे ६ बजे रामचन्द्र र उनका नाति रोहितलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बर्दिबास ल्याएर थप अनुसन्धान गरेपछि उपेन्द्र साहको घरबाट पनि बिक्री हुने गरेको कुरो खुलेको प्रहरी नायव उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टले जानकारी दिनुभयो ।

रजखोरमा नै बस्ने साहको घरबाट पुरिया बनाइराखेको तयारी गाजा पाँच केजी, डिजिटल तराजु एक थान र बिक्रीबाट प्राप्त ६५ सय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चारै जनालाई जिल्ला अदालतबाट लागुऔषध मुद्दामा पाँच दिन म्याद थप गरी इलाका प्रहरी कार्यालय, गौशालाबाट थप अनुसन्धान भइरहेको प्रवक्ता विष्टको भनाइ छ ।

टिप्पणीहरू