कोरोनाबाट युवायुवती सिकिस्त, किशोरकिशोरी जोखिममा
पछिल्लो समय युवायुवतीमा समेत कोरोनाको जोखिम ह्वात्तै बढेको छ । केही दिनयता २१ देखि ३० वर्ष उमेर समूहका युवायुवतीमा कोरोना संक्रमणले च्यापेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज एक सय ३२ जना युवायुवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, ५६ जना किशोर किशोरीमा संक्रमण देखिएको हो । ११ वर्ष मुनिका तीन जना संक्रमित थपिएका छन् ।
आज कोरोना संक्रमणबाट मुलुकभर एक जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा पाँच सय ४० जना संक्रमित थपिएका छन् । उक्त संख्या १२ हजार ९९ जनामा परीक्षण गरिँदा पुष्टि भएको हो ।
थपिएकामध्ये काठमाडौंमा मात्रै दुई सय २१ जनामा कोरोना संक्रमण भेटिएको छ । त्यस्तै, भक्तपुरमा ३० र ललितपुरमा ५९ जना संक्रमित थपिएका छन् ।
यो अवधिमा दुई सय ७१ जना संक्रमणमुक्त भएका छन् । मुलुकभर अझै पाँच हजार चार सय ३१ जना सक्रिय संक्रमित छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९७ दशमलव ९ प्रतिशत रहेको छ । कोरोनाबाट आजसम्म मृत्यु हुनेको संख्या ११ हजार छ सय दुई पुगेको छ ।
आज काठमाडौंमा एक हजार तीन सय दुई जना सक्रिय संक्रमित छन् । भक्तपुरमा पाँच सय ५३ र ललितपुरमा छ सय २१ जना संक्रमित रहेको बताइएको छ ।
टिप्पणीहरू