खोटाङ पुग्यो डिजिटल एक्स–रे

खोटाङ पुग्यो डिजिटल एक्स–रे

पुरानो प्रविधिको एक्स–रे उपकरण विस्थापित गर्दै खोटाङको जनसेवा सामुदायिक अस्पतालमा डिजिटल एक्स–रे सेवा शुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका स्थानीयले २०६९ सालमा स्थापना गरेको सामुदायिक अस्पतालमा डिजिटल एक्स–रे सेवा शुरु गरिएको हो ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्रतिनिधिसभा सदस्य विशाल भट्टराईमार्फत आर्थिक वर्ष २०७७/०७८ मा विनियोजित १५ लाखमा डिजिटल एक्स–रे जडान गरिएको जनसेवा सामुदायिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ध्रुव श्रेष्ठले बताए ।

अस्पतालमा डिजिटल एक्स–रे मेसिन जडान, तार खरिद, सपोर्टिङ उपकरण खरिदमा थप पाँच लाख बढी खर्च भएको छ । डिजिटल एक्स–रे मेसिन र सो प्रिन्टिङ मेसिन खरिदसमेतका लागि बजेट माग गर्दा डिजिटल एक्स–रे मेसिन मात्र प्राप्त भएको अस्पतालले जनाएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफै डिजिटल एक्स–रे मेसिन खरिद गरेर अस्पताललाई उपलव्ध गराएको हो । यसअघि सानो क्षमताको एक्स–रे मेसिनमार्फत सेवा प्रवाह गर्दै आएकामा डिजिटल एक्स–रे मेसिनले एक्स–रेसम्बन्धी सेवा सरल र सहज बनेको व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले बताए ।

प्रिन्टिङ मेसिन अभावमा डेभलपर (परम्परागत उपकरण) मार्फत रिपोर्ट दिने गरिएको छ ।

टिप्पणीहरू