हतारको श्रद्धाञ्जली, मर्यादाको बली
- राजेशचन्द्र राजभण्डारी
यो माया हराएको शहर हो प्रिया भन्ने गीत भाइराम थापा अविरलले केही वर्षअघि लेखेका हुन् । जसलाई नेपालका चर्चित गजल गायक राज सिग्देलले आफ्नो सुमधुर स्वर दिएपछि यसले निकै बजार लियो । साँँच्चै अहिले हाम्रो गाउँ शहरमा यतिबेला माया हराउँदै गइरहेको छ । यतिबेला नेपालीहरूमा मानवीय संवेदना पनि हराउँदै गइरहेको छ भनेर सायद व्याख्या गर्न पर्दैन होलाजस्तो लाग्छ ।
हामी यतिबेला २१ आंै शताब्दीमा भएको भनेर घमण्ड गरिरहेका छौं । नेपाल विकासोन्मुख देश भए पनि यहाँ सूचना र सञ्चारले भने ठूलो फड्को मारिसकेको छ । अहिले नेपाली जनताको हातहातमा एकसे एक मोबाइल आएको छ, मोबाइल आएसँगै इन्टरनेटलगायत प्रविधि पनि नभित्रिने कुरै भएन । ०६२÷६३ को दोस्रो जनआन्दोलनपछि देशबाट राजतन्त्र अन्त्य गरेपछि नेपाली जनताका छोराछोरी राष्ट्रपति हुने अवसर पाएका छन् यसलाई सकारात्मक रूपमा लिनुपर्छ । देशमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संविधानले दिएको छ । बोल्ने–लेख्ने संगठन खोल्ने स्वतन्त्रता पाउनु जनआन्दोलनको उपलब्धि हो । जसले जेजे मन लाग्यो त्यही गर्नु त्यो स्वतन्त्रता हैन त्यो स्वच्छन्नता हो । यतिबेला नेपालमा स्वतन्त्रताको नाममा मनपरी गर्ने मनपरी लेख्ने काम दिन दुई गुना रात चौगुना बढेर गएको छ, यसलाई स्वतन्त्रता हैन स्वच्छन्दता हो भनेर बुझ्न जरुरी छ । अहिले स्वतन्त्रताको नाममा मनपरी ढंगले आफूलाई मनपर्ने मान्छेलाई तथानाम गालीगलौज गरेर लेख्ने त अहिले सामान्य कुरा भइसके यो देशको प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, नेता–सांसदलाई मरेको भन्दै फोटो राखेर हार्दिक श्रद्धाञ्जली लेख्दै गरेको कुरा दुनियाँ सबैलाई थाहा भएको कुरा हो ।
साँच्चै यो संसारमा मान्छेको जन्म लिएपछि उसको मृत्यु अन्तिम सत्य हो त्यो कसैले रोकेर रोकिँदैन । चाहे गरिब होस् चाहे संसारकै सबैभन्दा शक्तिशाली, सबैभन्दा धनी नै किन नहोस् मृत्युलाई किन्ने हैसियत यो संसारमा कसैसँग छैन भन्ने थाहा हँुदाहँुदै पनि मान्छेहरू अजम्बरी भएको महसुस गरिरहेका छन् । सामाजिक सञ्जाल हेर्ने हो भने अहिले मान्छे सबैभन्दा बढी अहंकारी कहिले पनि आफू यो संसारमा मर्न नपर्ने व्यवहार देखाइरहेका छन् । मान्छे जन्मनु, मर्नु एउटा प्रक्रिया हो तर हामीले जतिसुकै घमण्ड गरे पनि मान्छे मर्दा खुशी व्यक्त गर्न सक्दैनौं । अहिले सामाजिक सञ्जालको दृश्य लेखाइ हेर्ने हो भने मान्छे हिंस्रक जनावर भइसके, साँच्चै जनावर हिंसात्मक भए पनि आफ्नो जातमाथि आक्रमण गर्दैनन् । तर आजकलका मान्छे ज्युँदो मान्छेलाई हार्दिक श्रद्धाञ्जली मात्रै कहाँ हो र तल्लो स्तरको गालीगलौज गरेर लेखेको हेरेर मजा लुटिरहेका छौं ।
देशमा साइबर क्राइमसम्बन्धी कानुनअनुसार यस्तो गलत तरिकाले अपराध गर्ने मान्छेलाई कानुनी कारबाही गर्ने प्रयास भए पनि खासै प्रगति भने भएको देखिँदैन । अहिले सरकारले मिडिया काउन्सिल विधेयक संसद्मा दर्ता गरेको छ, जसले अहिले सामाजिक रूपमा अपराध गर्छ यस्तो गलत काम गर्ने मान्छेलाई कारबाही गर्नका लागि हुनुपर्छ भन्ने माग नेपाली सञ्चार जगत्को हो । स्वतन्त्रताको नाममा तथानाम, जेजस्तो मन लाग्यो त्यस्तो गर्ने यही हो स्वतन्त्रता ? अवश्य पनि हैन होला । अहिले चाहिनेभन्दा बढी स्वतन्त्रता भएको हुनाले पनि देश यो अवस्थामा पुगेको हो । साँच्चै भन्ने हो भने अहिले चलिरहेको सामाजिक सञ्जाल सबैभन्दा खतरनाक हतियार बनेको छ, जसलाई जेजे मन लाग्छ त्यसलाई खुइल्याउने गरेर लेखिदिने यसलाई अहिलेसम्म सरकारले रोक्न सकेको छैन । विदेशी मुलुकमा पनि गणतन्त्र छ, प्रेस स्वतन्त्रता छ तर मनपरी गर्ने छुट कसैलाई पनि छैन । तथानाम लेख्ने छुट कसैलाई पनि दिइँदैन, नेपाल मात्रै एउटा यस्तो देश हो जहाँ जसले जसलाई जेजे मन लाग्यो त्यहीँ लेख्ने । नैतिकता सामाजिक उत्तरदायित्व भन्ने केही पनि थाहा छैन यस्तै तरिकाले अगाडि बढ्ने हो भने हामी कहाँ पुग्छौं, हाम्रो समाज कहाँ पुग्छ यो कुरा सम्झने हो भने साँच्चै डर लाएर आउँछ ।
साँच्चै एउटा कुरा मलाई यहाँ भन्न मन लाग्यो मान्छे यो पृथ्वीमा आएपछि एक दिन अवश्य मर्नुपर्छ । हरेक दिन ५ र ७ जना मान्छे मरेको लास बागलुङको पवित्र कालीगण्डकी नदीमा लग्ने गरेको दृश्य धेरैले देखेका छन् । रामनाम सत्य हो स्वर्ग जाने बाटो हो भन्दै सयौं मान्छे मृतकको मलामी बनेर आइरहेका हुन्छन् हो कालीगण्डकी नदीमा जाने बेलामा हामी पनि यसरी मरेर जानुपर्छ भन्ने कुराकानी गरेको सुनिन्छ जब माथि आयो फेरि मान्छेले त्यो सत्य कुरा बिर्सन्छन् । यसरी नै जीवन चलिरहेको छ, एकलाई पर्दा अर्को भन्ने सिद्धान्त अहिलेसम्म हाम्रो गाउँ घरमा कायमै छ । ज्युँदा जन्ती मर्दा मलामी भन्ने हो यहीँ सामाजिक भावनालाई हामीले अब शहरी क्षेत्रमा पनि सिकाउन जरुरी छ । अहिले मानवीयता हराउँदै जान थाल्नुको पछाडि धेरै कारण छन्, त्यसलाई हामीले खोज्न जरुरी छ । अहिले भएको अराजकता अमानवीयताको ठाउँमा मानवीयता र सामाजिक भावनाको विकास गराउने शिक्षाको जरुरी छ । सरकारले जथाभावी लेख्ने मान्छेलाई ठाउँको ठाउँ कारबाही गर्न जरुरी छ, अहिले जसरी मनपरी ढंगले सामाजिक सञ्जाल चलाउने काम भएको छ, यसलाई कानुनी दायरामा ल्याएर मात्रै चलाउन पाउने विधि बनाउन जरुरी छ, साँच्चै कतिपय देशमा यसलाई प्रतिबन्ध लगाएको उदाहरण पनि छन् ।
टिप्पणीहरू