​संकेतले चेत्ने कि परिणामले चेप्ने ?

  • नरेन्द्रजंग पिटर

फोहोरमै झिँगा बस्छ । पहिलो कुरा घाउ पार्नै हँुदैन । पारे तुरुन्त उपचार गर्नुपर्छ । परिवर्तनको विश्वासमा आँच आउँदा प्रतिगमन सल्बलाउँछ । अंशमा टेकेर समग्रमा आक्रमण हुन थाल्छन् । 

केही दिनदेखि विभिन्न नाममा जनमतलाई भीडमा फेर्ने अभ्यास हुँँदै छन् । लोकप्रिय विषय उरालेर शिकार अन्यत्र खेलिँदै छ । तर, सबै असन्तुष्टि प्रतिगमनको मतियार हुँदैनन्, सत्ताले खबरदारीको रूपमा पनि लिन सक्छ यसलाई । नेपालगञ्ज एयरपोर्टमा भएको घटना त संकेत मात्र हो । 

संकेतले चेत्ने मान्छे, परिणामले चेत्ने पशु । एउटै मानिस नायकबाट जब खलनायकमा फेरिन्छ तब राजनीतिमा केही गडबड हँुदै छ है भनेर बुझ्न आवश्यक हुन्छ । कुनै पनि घटनाका पछाडि कारण हुन्छन् । कारणले उपचार खोज्छ र समयमै उपचार गरे दुर्घटनाबाट बच्न सकिन्छ । 
बालुवाटार जग्गा प्रकरणमा दूधको दूध, पानीको पानी छुट्याए, वाइडबडी र एनसेल प्रकरणमा हात हाले, न्यायालयबाट अपराधी उम्काउने कानुनी खेलोमा लगाम लगाए अनि कहाँ प्रतिगमनकारीले शीर्षक पाउँछन् ! 

भीडमा सामेल एकखाले निराशावादी हुन्छन्, एकथरी सरकारी भूमिकाप्रति असन्तुष्ट पाइन्छन्, केही त रमिते र तमासे पनि हुन्छन् । सहज सोचको चरम विन्दु भनेको कार्य, कारण र परिणामलाई जोडेर नहेर्नु हो । त्यसले आवेग, घृणा र भीड मात्र तयार गर्छ । शान्ति र सन्नाटामा धेरै फरक हुन्छ । 

टिप्पणीहरू