अचार फेरि ‘काँक्रो’ बन्ला र ?
- रामकुमार एलन
दार्शनिक रूपचन्द्र विष्टले अलि छाडा लागे पनि भनेका थिए, ‘भाते, पर्खाललाई भाले लगाएर चल्ला हुँदैन ।’ केपी ओली सरकार दुई तिहाइको आडमा उडान भरिरहेको छ । यो उडानमा कुनै उल्झन, भाँजो हाल्न सक्ने औकात भएको प्रतिपक्षी ह्याकुल्ला पर–परसम्म देखिन्न । चुनावमा यस्तरी धुलो चाट्नुपर्छ भन्ने कल्पना नै नगरेका हिन्दूवादी विष्णु अवतारका चेलाहरूको रुवाबासी छँदै छ । त्यही हिन्दू आत्मा बेलाबखत कांग्रेसका केही नेतामा पनि सवार हुँदा बिपी कोइरालाका नाममा टिकिरहेको पार्टी अरू स्खलित हुने हो कि भन्ने पीर त्यहीँका केही नेतामा पनि देखिन्न ।
मन्त्री भएको एक महिनामा साविकको एमाले सचिव योगेश भट्टराईलाई पटकपटक विवादमा ल्याउने प्रयास भए । ओली सरकारको प्रशंसा स्वयं ओली एमाले अध्यक्षको उम्मेदवार बनेका बेला जुरुक्क बोकेका मुख र कलमबाट कम सुनिन्छ । केहीले विरोधमै लेखिरहेको देख्छु । सायद यो १८ महिनामा कुनै गिफ्ट ह्याम्पर आएन होला । सत्तारुढ हुनुअघिको लोकप्रियता सरकारमा पुगेपछि कायम राख्न नसक्नु र आलोचनाको शिकार हुनुमा सरकारका अवयव, कार्यशैली, पेटबोली, व्यवहार, मन्त्री र कर्मचारी नै हुन् । उनीहरूको आनीबानी, हाउभाउले सरकारको उडानमा कटाक्ष आउने÷नआउने संकेत गर्छ । तर, दुःखको कुरा के छ भने सरकारमा बसेकाहरूले बाहिरको अनाकर्षणलाई सत्ताको बेसक्याम्पबाहिरैबाट ढिसमिस पार्दा रहेछन् र सरकारको इपिसेन्टरमा राम्रा कुरा मात्र प्रचार भएको देखाइँदो रहेछ । त्यसको पछिल्लो उदाहरण हो ः आँगनमा राष्ट्रिय अनुसन्धान विभागलाई सेन्ट्री लगाएर सुतेका प्रधानमन्त्रीले कता हो भन्नुभएछ, ‘पशुपतिमा राष्ट्रियगान बजाउन थालेको थाहै छैन ।’
प्रधानमन्त्री ओली बोलेको पु¥याउँछन् । पु¥याउनमा चाख लिन्छन् । सम्झेर बस्छन् । पु¥याइछाड्छन् । विगतका अनेक किस्सालाई काममा बदलेर अरू नेताभन्दा फरक देखिने ओली अडान वरिष्ठ नेता झलनाथ खनालको अर्जुनदृष्टिभन्दा अनौठो छ । यतिखेर ओली चीनका राष्ट्रपति सि चिनफिङलाई नेपालमा स्वागत गर्न तयार छन् । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीलाई एकपटक भए पनि लुम्बिनी घुमाउन चाहन्छन् । मोदी लुम्बिनी जानुपर्ला भनेर बरु नेपाल आउन इच्छुक छैनन् । नेपाल नचिढियोस् भनेर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई नै अघिल्लो वर्ष जानकी विवाहमा जन्तीको नाइके बनाएर पठाइदिए । छिमेकका दुई देशसँग सन्तुलित राजनीतिमा टिक्ने ओलीको चाहनामा बेलाबखत आफ्नै पार्टीका नेता ढलपल भइदिँदा त्यो खाल्डो पुर्न समय धेरै लागेको छ । धेरै लामो प्रतीक्षापछि सत्तामा पुगेकाले कैयौं काम पेन्डिङ नै छन् ।
नेपालगञ्जमा योगेश भट्टराईमाथि भएको ‘पटके हमला’को मक्सद थियो, देशमा भदौदेखि नै लगाउन खोजिएको अराजकताको आगो यसपटक दन्काउने । तर, भट्टराईले पुरानो पाठ्यक्रममा प्राथमिक तहमा पढाइ हुने कथा ः झगडाको ओखतीकी महिलाको भूमिकामा बसिदिएनन् मात्र । सामाजिक सञ्जालमा ‘रामधुलाइ’को जवाफ मेरा कारण १५ मिनेट विमान ढिलो भएको, पारस शाहविरुद्ध ७ लाखको हस्ताक्षर बुझाउने तैँ होस् भन्दा पनि मौन बसें भनेपछि अराजकताको ग्रिनेड आफैँतिर फर्कियो । त्यो ग्रिनेडले यतिखेर सरकारलाई गाली गर्ने समूहलाई समेत मौन बस्ने बनाइदिएको छ । जस्तो, सरकारको लोकप्रियताको स्केल स्वात्तै घटेको थियो तर योगेशको मुद्दामा सामाजिक सञ्जालमा अधिकांश उनकै पक्षमा उभिइदिए । ओलीको रोजाइका पर्यटनमन्त्रीलाई बिच्काएर शासनसत्तामैहमला गर्न सकिन्छ भन्ने भ्रममा बाँचेकाहरू युवा संगठन, विद्यार्थी संगठन पनि बोल्न थालेपछि ट्विटर र सामाजिक सञ्जालमा मौन देखिन्छन् ।
४० प्रतिशत माओवादी मिसिएर बनेको नेकपाका बाँकी काम ओली आफ्नै नेतृत्वमा गर्न चाहन्छन् । दुई नम्बरका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अझै पनि आफन्तको घेराभन्दा बाहिर जान सकेका छैनन् । खुमलटारमा माग्न जानेहरूलाई हैसियत दिएर पठाउँदा–पठाउँदा यस्तो खिइँदै गएका छन् कि प्रदेश २ मा प्रभु साह कुटिए । सरकारको राम्रो कामको प्रचार हुन सकेन भन्ने ठाउँमा आइपुगेका छन् । सोमबार पार्टीनिकट ठेकेदारहरूको कार्यक्रममा सरकारको बचाउ यसरी नै गरेका थिए । तर, यतिखेर चिन्ता सरकारको बचाउमा होइन । हरेक क्षेत्रमा बढ्दो महँगी, भ्रष्टाचार, कर वृद्धि र नागरिकले महसुस गर्न नसकेको परिवर्तनबारे समीक्षामा पार्टी जुटेको छैन ।
भदौमै कुनै ठूला नेता मारिन्छन् भन्ने भविष्यवाणी नै गरेर देशमा अराजकता मच्चाउने कामको हवन भइरहँदा यतिखेरसम्म शान्तिसुरक्षामै नागरिक बाँचिरहँदा कतै कात्तिक १ मा सि चिनफिङ आए भने त देश नेकपामय हुन्छ भन्ने डर सबैलाई छ । भ्रष्टाचारको जति फाइल पल्टायो, त्यति प्रमुख प्रतिपक्षी कांग्रेस सभापति जोडिने घटना जगजाहेर छ । अघिल्लो साता मात्रै वामदेव गौतम हराएका कांग्रेस सांसद सञ्जय गौतमले संसद्मा एनसेलमाथि छानबिन गरौँ भनेपछि उनी बर्दियातिर घुम्न गएको मौका पारेर सभापति शेरबहादुर देउवाले सरुवा गर्दै सार्वजनिक लेखा समितिमा आफैँ सदस्य खान इच्छा देखाएपछि संसद बैठकले अनुमोदन गरेकै छ ।
देशमा अराजकताको आगो लगाउने अनेक आवरण कामयाव भइरहेका छैनन् । तिब्बत मुद्दा होस् या सीमा आक्रमण, चितवनमा पत्रकारको मुद्दा होस् या देशभर भ्रष्टाचारको कुरा गर्दै हिँड्ने पटके अभियन्ताको पाठ्यक्रमविहीन मुद्दा । कुनै पनि मुद्दाले सरकार हल्लिन सकेको छैन । दुई कम्युनिष्ट पार्टी मिलेर जानै सक्दैनन् भन्दै बूढानीलकण्ठमा मुख बाएर बसेका र लैनचौरको हावामा सुकला भएकाहरू यतिखेर ओरालो लागेको मृग भएका छन् । अनुगमन, नियमनमा सरकार सक्रिय हुँदा कारबाहीमा पर्नेहरूको अनुहार पनि सरकारसँग छ । केही आफ्ना पनि पर्लान् तर देशमा अराजकताको आगो बाल्नेबाहेक अरू कुनै कोणबाट सरकार र नेकपाविरुद्ध लाग्न–जाग्न नसक्ने अवस्था बन्दा अब मन्त्रीहरूलाई बाटो छेक्ने उद्योग फस्टाउनेछ । तर, यतिचाहिँ पक्का हो कि यो सरकार बदलिन सक्छ । मन्त्रीहरू फेरिन सक्छन् । तर, व्यवस्था कतैबाट पनि फेरिन सक्दैन । जस्तो ः काँक्रो काटेर अचार बनाएपछि अचार खाने हो, स्वाद नपरे मसला फेरेर अर्को अचार बनाउने हो । अचार मन परेन भनी जोरजार पारेर काँक्रो त हुँदै–हुँदैन ।
टिप्पणीहरू