बालुवाटारमा तीन नेताको भेटवार्ता, भोलि बैठक बोलाइयो
प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष तीन नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ । चुनावको मिति तय गर्नेबारे पाँच दलीय गठवन्धनमा सहमति जुट्न नसकेको भनिएका बेला नेताहरुले भेटवार्ता गरेका हुन् ।
भेटवार्ताका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज साँझ प्रधानमन्त्री निवास पुग्नुभएको हो । स्थानीय तहको चुनाव र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ ।
यसअघि आज अपरान्ह ४ बजे बोलाइएको सत्ता गठबन्धन बैठक तयारी नपुगेको भन्दै स्थगित भएको थियो । उहाँहरुबीच गठबन्धनको बैठक भोलि अपरान्ह ४ बजे बोलाउन सहमति जुटेको पनि बुझिएको छ ।
स्थानीय तहको निर्वाचन मंसिरमा सारेर बैशाखमा संसदीय चुनाव गर्ने कि दुवै चुनाव नियमित मितिमै गर्ने भन्नेमा सत्ता गठवन्धनमा कुरा नमिलेको चर्चा चलिरहेका बेला आजको भेटवार्तालाई चासोका साथ हेरिएको छ ।
टिप्पणीहरू