सेनाद्वारा बर्बरताको पराकाष्ठा, बालक र पत्रकारको शव फेला

सेनाद्वारा बर्बरताको पराकाष्ठा, बालक र पत्रकारको शव फेला

भारत र बङ्लादेशसँग सीमा जोडिएको म्यान्मारको पश्चिमी छिन् प्रान्तमा त्यहाँको ‘सैन्य जुन्ता’ ले १३ वर्षीय बालक र एक पत्रकारसहित कम्तिमा १० जनाको घाँटी रेटेर हत्या गरेको आरोप छ ।

अघिल्लो साता हिरासतमा लिएर सामूहिक रूपमा अमानवीय ढंगले क्रुरतापूर्वक हत्या गरिएको स्थानीयहरूले बताएका छन् । एक वर्षदेखि सरकारी सेनाले गाउँ–गाउँमा छिरेर युध्द अपराध गरिरहेको उनीहरू बताउँछन् ।

‘जुन्ता सेना’ द्वारा मारिएका उनीहरूलाई माटुपी बस्तीको कि–लुन र लोन–ह्ला गाउँबाट गिरफ्तार गरिएको हो । स्थानीयले मृतकमध्ये दुई जनाको शव कासे गाउँ नजिकै फेला पारेका थिए । बाँकी आठ जनाको एक कि–लुन र लोन–हलाको बीचमा भेटाइएको त्यहाँको जातीय अधिकार समूहका प्रमुखले बताएका छन् ।

‘गोलीका घाउहरू छैनन्,’ ती महिलाले भनिन्, ‘उनीहरूको हात बाँधिएको छ । घाँटी रेटिएको अवस्थामा फेला पारेका छौँ ।’

मृतकमध्ये तुइ डिम, भान हट, स्टिभन, ला रिङ, ला नाङ, टिन सान, फुपा सली, लियान न्गाई, जे काएट आङ र थाक लुङ रहेको स्थानीयले पहिचान गरेका छन् ।

तुइ डिम म्यान्मार–भारत सीमाक्षेत्रमा क्रियाशील स्थानीय पत्रकार हुन् । उनी छिन् भाषामा आधारित खोनुम्थुङ समाचार संस्थाको प्रधान सम्पादक भएर काम गर्थे । उनी पक्राउ पर्नुअघि आफ्नो गृहनगर माटुपी भ्रमणमा निस्केको पारिवारिक स्रोतले दाबी गरेको छ ।

तर उनको शव माटुपी–हाखा सडकको किलुन गाउँ नजिकै भेटिएको थियो । हत्या गरिएकामध्ये ला नाङ १३ वर्षीय बालक हुन् । गाउँलेहरूसँगै शिकार गर्न जंगल छिरेको बेला नाङसहित अन्य युवाहरू पनि पक्राउ परे । उनीहरूलाई माटुपीस्थित १४० औं इन्फेन्ट्री बटालियनका सैन्य जवानहरूले नियन्त्रणमा लिएका हुन् ।

शिकारी दलसँगै जंगल पसेकी एक महिलाले आफू भने भागेर बाँचेको बताएकी छन् । अरुलाई क्रुर यातना दिएर हत्या गरिएको उनको दाबी छ । ‘गोलीका घाउहरू छैनन्,’ ती महिलाले भनिन्, ‘उनीहरूको हात बाँधिएको छ । घाँटी रेटिएको अवस्थामा फेला पारेका छौँ ।’

कासे गाउँ नजिकै भेटिएको एक शवको घाँटीमा चक्कु प्रहार गरिएको स्थानीय बताउँछन् । शवको घाँटीमा सातवटा घाउ देखिन्छन् । भारतस्थित छिन् मानवअधिकार संगठनका उपकार्यकारी निर्देशक जा ओप लिनले उक्त राज्यमा भएको हत्यालाई ‘सेनाले गरेको अर्को युद्ध अपराध’ भनेका छन् ।

‘यो युद्ध अपराध हो । एक जवान केटा र एक पत्रकारसहित दर्जनौं बर्मेलीहरूको यसैगरी हत्या गरियो । सामान्य गाउँलेलाई समातेर मार्नु वा तिनीहरूलाई मानव ढालको रूपमा प्रयोग गर्नु युद्ध अपराध हो,’ लिनले भने ।

सेनाले सो क्षेत्रमा आक्रमण गरेपछि ३० गाउँका चार हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । जसमध्ये धेरैजसो म्यान्मार–भारत सीमापार गरी आश्रय लिन पुगेका छन् । जुन्ता सेनाले हालैका महिनामा छिन् प्रान्तमा पटकपटक आक्रमण गरी कैयौंलाई पक्राउ गरेको छ ।

टिप्पणीहरू