कोभिडका कारण प्रधानमन्त्रीको बिहे रोकियो

कोभिडका कारण प्रधानमन्त्रीको बिहे रोकियो

कोभिडको बढ्दो जोखिमका कारण न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डेनको विवाह स्थगित भएको छ । प्रधानमन्त्री आर्डेनले कोभिडका कारण विवाह स्थगित गर्न बाध्य भएको बताएकी छन् ।

कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोन फैलिएपछि प्रधानमन्त्रीले विवाह स्थगित गरेकी हुन् । ‘कोभिडका कारण मेरो विवाह पूर्वनिर्धारित मितिमा नहुने भएको छ,’ उनले भनिन् ।

सरकारले विवाहलगायतका ठूला जमघट हुने कार्यक्रममा बढीमा एक सय जना मानिस भेला हुन पाउने जनाएको छ । तर, ती सबै जनाले पूर्ण खोप लगाएको हुनुपर्छ ।

महामारीबाट न्युजिल्यान्डका अन्य नागरिकजस्तै आफू पनि प्रभावित बनेको उनले जनाएकी छन् । ‘महामारीका कारण म पनि अन्य नागरिकजस्तै प्रभावित बनेकी छु’ प्रधानमन्त्रीले भनिन् ।

आर्डेन र उनका लामो समयदेखिका पार्टनर क्लार्क गेफोर्डले अहिलेसम्म आफ्नो विवाहको मिति सार्वजनिक गरेका छैनन् । ४१ वर्षीया आर्डेन र उनका लिभिङ टुगेदर क्लार्कले एक सन्तान जन्माइसकेका छन् । केही सातापछि उनीहरुको विवाह हुने न्युजिल्यान्डका सञ्चार माध्यमहरुले जनाएका थिए ।

टिप्पणीहरू