कोरोनाको दुई वर्ष: ५६ लाखले ज्यान गुमाए

कोरोनाको दुई वर्ष: ५६ लाखले ज्यान गुमाए

विश्वभर कोरोना भाइरस (कोभिड-१९) बाट हालसम्म ५६ लाख बढी मानिसले ज्यान गुमाएका छन् । कोरोनासम्बन्धी अपडेट दिइरहेको वल्डोमिटरका अनुसार आज बिहानसम्ममा ५६ लाख १४ हजार ७८८ जनाको कोरोनाका कारण मृत्यु भएको हो ।

यो अवधिमा ३५ करोडभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । हालसम्म ३५ करोड २१ लाख २६ हजार ९०७ जना मानिस संक्रमित भएको वल्डोमिटरको तथ्याङ्कमा छ ।

कोरोना भाइरसबाट संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित छ । अमेरिकामा मात्रै सात करोड १९ लाख २५ हजार ९३१ जना संक्रमित भएका छन् । त्यहाँ आठ लाख ८९ हजार १९७ जनाले ज्यान गुमाएका छन् । अमेरिकापछि छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको प्रभाव बढी देखिएको छ । त्यहाँ तीन करोड ९५ लाख ४३ हजार ३२८ जनालाई संक्रमण हुँदा चार लाख ८९ हजार ८९६ जनाको मृत्यु भएको छ ।

त्यसैगरी, ब्राजिल कोरोना संक्रमणको उच्च प्रभावित देशको तेस्रो स्थानमा छ । ब्राजिलमा दुई करोड ४० लाख ४४ हजार ४३७ जना संक्रमित छन् भने ६ लाख २३ हजार १४५ जनाको ज्यान गएको छ । कोरोना संक्रमणको उच्च प्रभावित देशहरुको सूचीमा चौंथो स्थानमा रहेको फ्रान्समा एक करोड ६६ लाख ९२ हजार ४३२ जना संक्रमणको शिकार बनेका छन् ।

बेलायतमा एक करोड ५८ लाख ५९ हजार २८८, रुसमा एक करोड ११ लाख आठ हजार १९१ जना, टर्कीमा एक करोड नौ लाख ४७ हजार १२९ जना र इटालीमा ९९ लाख २३ हजार ६७८ जना संक्रमित भएका छन् । कोरोनाबाट हालसम्म रुसमा तीन लाख २६ हजार ११२, मेक्सिकोमा तीन लाख तीन हजार १८३ र पेरु दुई लाख चार हजार ३२३ जनाको मृत्यु भएको छ ।

यीबाहेक एक लाखभन्दा बढी नागरिक गुमाउने फ्रान्स, बेलायत, इटाली, जर्मनी, अर्जेन्टिना, इरान, कोलम्बिया, पोल्याण्ड, इन्डोनेसियासहितका देशहरू छन् ।

साथै, संक्रमितको संख्या ३५ करोडभन्दा बढी हुँदा र ५६ लाखभन्दा बढी मानिसले ज्यान गुमाउँदा २७ करोडभन्दा बढी व्यक्तिले कोरोनालाई जितेका छन् । वल्डोमिटरका अनुसार २७ करोड ९८ लाख ५२ हजार २३ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

कोरोना महामारी सन् २०१९ को डिसेम्बरतिर छिमेकी मुलुक चीनको वुहान शहरबाट सुरु भएको थियो ।

टिप्पणीहरू