लमजुङका कमरेडहरुमा यस्तोसम्म देखियो लफडा

लमजुङका कमरेडहरुमा यस्तोसम्म देखियो लफडा

२०४३ देखि लगातार चुनावमा भाग लिएका नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङमाथि ०६४ सालमा बल्ल जितेर आदिवासी जनजाति सांसदहरुको संगठन ककसको अध्यक्ष बनेपछि विशेष गरी बाहुनक्षेत्रीविरुद्ध व्यापक खनिएको आरोप लाग्यो ।

झण्डै झण्डै एमाले परित्याग गर्न लागेका गुरुङले बाहुनलाई काशी, क्षेत्रीलाई फाँसीको नारा लगाएको हल्लाले ०७० को पहिलो संविधानसभा निर्वाचनमा पराजित भए । यसमा उनकै पार्टीका केही बाहुनक्षेत्रीको कुँडिएको मनले काम ग¥यो भनियो ।

जनजातिको नारा छोडेको भन्दै ०६४ मा काँध थापेर हिँडेका खेमजङ गुरुङ उनकै विरुद्ध खनिए । तत्कालीन पार्टी सचिव कृष्णप्रसाद अधिकारी, उपसचिव सुभाष पौडेलहरुले सकारात्मक भूमिका नखेलेको कारण नेपाली कांग्रेसका नेता चन्द्रबहादुर कुँवरले ३ सय १८ मतले जीत हात पारे ।

स्थानीय निर्वाचन हुँदा बेसीशहरबाट गुमानसिंह अर्याललाई अन्तिम समयमा टिकट दिइएपछि तिनै अधिकारी र पौडेल अर्याललाई हराउन लागेको आरोप लाग्यो । अधिकारीले आफ्नो वडामा आधिकारिक उम्मेदवारका बिरुद्द बागी उम्मेदवार उठाएपछि कांग्रेसका बलराम श्रेष्ठलाई खुदो पल्टियो ।

सातौं जिल्ला अधिवेशनबाट सचिव र उपसचिवमा निर्वाचितद्वय यी भाइ एमाले–माओवादी एकीकरणपश्चात भने भूमिकाविहीन जस्तै बने । हालै सम्पन्न आठौं जिल्ला अधिवेशनबाट अध्यक्ष र सचिव निर्विरोध चयन भएका उनीहरू चुनाव भएको भए धरापमा पर्ने एमालेजनको विश्लेषण थियो । आकांक्षीलाई छेकबार लगाएर अध्यक्ष र सचिवमा सर्वसम्मत गरिए पनि उपसचिवमा भने निर्वाचन भै छाड्यो ।

सातौं अधिवेशनमा कृष्ण अधिकारीको प्रतिष्पर्धी रहेका राजकुमार बिष्ट अध्यक्षमा भिड्ने चर्चा थियो तर उनलाई नगर अध्यक्षमै थन्काई दिएपछि चाइँचुईं गरेनन् । वडाबाट प्रतिनिधि बनेर आएका गुमानसिंह अर्याललाई पृथ्बीसुब्बा गुरुङले फेरि मेयरको आश्वासन दिएर प्रतिस्पर्धाबाट रोके ।

सुन्दरबजारका मेयर जनक मिश्रलाई सचिव बनाउने पक्का पक्की थियो तर नेतृत्वले उनलाई सुत्छ भनेर पन्छाएनन् मात्रै उपसचिवमा समेत बार लगाउन खोजे । सचिवको प्रतिष्पर्धी थिए राजेन्द्र बोहोरा पनि । पर्चा बाँडिसकेका उनलाई अन्तिममा आएर उम्मेदवारी फिर्ता लिन लगाइयो ।

उपसचिवमा सात जनाको उम्मेदवारी परे पनि पत्रकारसमेत रहेका कृष्ण केसी, हिरा बिक, रामचन्द्र भट्टलाई ढिम्कनै दिइएन । आधिकारिक उम्मेदवारका रूपमा विवश बुढाथोकी र जीतबहादुर गुरुङलाई पृथ्वीसुब्बा गुरुङ, जमिन्द्रमान घले र धनञ्जय दवाडीको कृपा थियो ।

तर जसलाई हराउन भनेर नेताहरु लागे उसैले अर्थात् सुन्दरबजारका मेयर जनक मिश्रले २ सय ३२ मत ल्याएर उपसचिवमा जिते । मस्र्याङ्दी गाउँपालिकाका जीतबहादुर गुरुङले २ सय ४७ मत ल्याएर विजयी बने । जीतबहादुरमाथि स्थानीय निर्वाचनमा कांग्रेसका उम्मेदवार नरबहादुर गुरुङको पैसा खाएर एमाले उम्मेदवार अर्जुन गुरुङलाई हराउन लागेको आरोप छ ।

अहिले पनि हाइड्रो पावर कम्पनीस“ग पैसा उठाएर खाएको पार्टीकै आधिकारिक व्यक्तिहरूबाट सुन्न पाइन्छ । जसरी महाधिवेशनमा थुप्रै इमान्दार नेता पाखा पारिए लमजुङको हविगत पनि त्यस्तै रह्यो । बेसीशहरबाट हिमाल सहकारीको प्रबन्धक राजेन्द्र अधिकारीले सहकारी डुबाएर काठमाडौं पसे ।

उता पनि अमेरिका, युरोप भन्दै पठाइदिन्छु भनेर सयौंको रकम हिनामिना पारेको आक्षेप लागेका अधिकारी एक्कासि जिल्ला अधिवेशनमा देखिएर जिल्ला सदस्य पड्काए । नवनिर्वाचित ८८ जना जिल्ला कमिटी सदस्यहरुमा यस्तै तमाशा देखियो ।

६ सय ६२ मतदाता रहेको जिल्ला अधिवेशनमा ४ सय ९४ जनाले मात्र भोट हाले । रोचक विषय त उम्मेदवारी हाल्न लगाउने अध्यक्षको १० हजार र अन्य पदाधिकारीको हकमा ५ हजार दर्ता शुल्क तोक्ने, तिनैलाई उम्मेदवारी फिर्ता लिन दवाव दिने, तर मनोनयन शुल्क फिर्ता नगराउने काम भयो ।

– अञ्जनकुमार

टिप्पणीहरू