सरकारमाथि दबाब बढाउँदै निर्वाचन आयोग
निर्वाचन आयोगले तत्काल स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारसँग आग्रह गरेको छ । यसअघि सरकार र राजनीतिक दलहरुलाई बारम्बार चुनावको मिति तोक्न आग्रह गरेको आयोगले आज दिउँसो विज्ञप्ति सार्वजनिक गर्दै सरकारमाथि दबाब बढाएको हो ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्थाबमोजिम मौजुदा स्थानीय तहका सबै निर्वाचित पदाधिकारीहरुको कार्यकाल आउँदो जेठ ५ गतेबाट कार्यकाल सकिने भन्दै आयोगले तत्काल निर्वाचनको मिति तोक्न सरकारलाई भनेको छ । आयोगले २०७९ वैशाख मसान्तभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गरिसक्नुपर्नेमा पनि जोड दिएको छ ।
आयोगले आगामी वैशाख १४ र २२ गते दुई चरणमा निर्वाचन गर्न गरेको प्रस्ताव स्मरण गराएको छ । निर्वाचनको मिति तोक्न विलम्व हुँदा व्यवस्थापकीय कार्य जटिल बन्ने भएकाले यथाशीघ्र चुनावको मिति घोषणा गर्न आयोगको आग्रह छ ।
‘वर्तमान संवैधानिक एवम् कानूनी व्यवस्थाको आधारमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने काम जति विलम्व हुँदै जान्छ, त्यति नै निर्वाचन व्यवस्थापनको कार्य व्यवहारिक एवम् प्राविधिक कारणले जटिल बन्दै जान्छ भन्ने तथ्यलाई दृष्टिगत गरी स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा (१) बमोजिम आयोगको परामर्शमा आगामी स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न नेपाल सरकारसमक्ष निर्वाचन आयोग आग्रह गर्दछ’, आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
टिप्पणीहरू