राष्ट्रियसभा चुनावमा गठवन्धनले ‘क्लिनस्वीप’ गर्ने दावी
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको चुनावमा सत्ता गठबन्धनले ‘क्लिनस्वीप’ गर्ने दाबी गर्नुभएको छ ।
आज पार्टी कार्यालय शान्तिनगरमा विभिन्न पार्टीबाट आएका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै उहाँले आजको राष्ट्रियसभाको चुनावमा गठबन्धनले १९ वटै सिटमा जित हाँसिल गर्ने दाबी गर्नुभएको हो ।
अध्यक्ष नेपालले भन्नुभयो, ‘राष्ट्रिय राजनीतिमा हाम्रो दलको राजनीतिले तरङ्ग पैदा गरिरहेको छ । अहिले हामी पाँच दलीय गठबन्धनमा छौँ । पाँच दलीय गठबन्धनका सबै दल मिलेर राष्ट्रियसभाको चुनावमा १९ जना उम्मेदवार खडा गरेका छौँ । सबै ठाउँमा हामी विजयी हुनेछौँ ।’
उहाँले एकैपटक तीन वटा तहको निर्वाचन गराउन सके खर्च कम लाग्ने भएकोले विज्ञहरूसँग विस्तृत छलफल गरिरहेको पनि बताउनुभएको छ ।
राष्ट्रियसभाको १९ जना सदस्यका लागि ४३ जनाले उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सत्तारुढ ५ दलीय गठबन्धनबीच सबै सिटमा चुनावी तालमेल भएको छ ।
टिप्पणीहरू