सातै प्रदेशको बाक्सा खोलियो, साँझसम्म परिणाम आइसक्ने
राष्ट्रियसभा सदस्यका लागि भएको मतदानको मतगणना शुरु भएको छ । सातवटै प्रदेशमा भएको निर्वाचनको मतगणना थालिएको प्रदेश निर्वाचन कार्यालयहरुले जनाएका छन् ।
राष्ट्रियसभाको रिक्त १९ सदस्यका लागि आज बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान भएको थियो । कूल दुई हजार २५ मतदातामध्ये दुई हजार ७ मतदाताले मतदानमा सहभागी भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा नौ राजनीतिक दलका ४३ उम्मेद्वार प्रतिष्पर्धामा थिए ।
मधेस प्रदेशमा कूल मतदाता ३ सय ७२ जना रहेकोमा ३ सय ६६ जनाले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले बताए ।
सुदूरपश्चिममा ५२ प्रदेशसभा सदस्य र १ सय ७५ स्थानीय तहका जनप्रतिनिधिसहित २ सय २७ मतदाता मतदानमा सहभागी भएका प्रदेश निर्वाचन आयोगका प्रमुख प्रेमदत्त भट्टले बताए । बागमती प्रदेशको राजधानी हेटौंडामा भएको निर्वाचानमा तीन सय ४३ मत खसेको छ ।
राष्ट्रियसभामा प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमबाट तीन-तीन जना तथा मधेस र बाग्मती प्रदेशबाट दुई-दुई जना निर्वाचित हुनेछन् । साँझसम्म मतगणनाको अन्तिम परिणाम आउने आयोगले जनाएको छ ।
टिप्पणीहरू