क्याबिनेटका विभिन्न निर्णय सार्वजनिक

क्याबिनेटका विभिन्न निर्णय सार्वजनिक

गत सोमबार बसेको क्याबिनेट बैठकको निर्णय आज सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले निर्णय सार्वजनिक गर्नुभएको हो ।

छपाइ भएर प्रकाशन र चलनचल्तीमा नआएका हुलाक टिकट र हुलाक स्टेसनरीहरू प्रयोगमा नल्याइने र कानुनबमोजिम नष्ट गरिने क्याविनेटले निर्णय गरेको छ ।

त्यस्तै, कृषि तथा वनविज्ञान विश्वविद्यालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृति दिने, भोजपुर जिल्लास्थित नेपाली सेनाको श्री फस्ट राफइल गणको ब्यारेक पेरिमिटरको उत्तर र पूर्वतर्फ फैलिएको स्थानीय व्यक्तिहरूको स्वामित्वमा रहेको करिब २० रोपनी १५ आना दुई दाम जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय क्याबिनेटले गरेको छ ।

त्यसैगरी, कञ्चनपुर र कैलालीमा एकीकृत फोहोरमैला व्यवस्थापन प्लान्ट स्थापनार्थ शुक्लाफाट नगरपालिका र गोदावारी नगरपालिकाको वन क्षेत्र पर्ने जग्गा प्रयोग गर्न क्याविनेटले स्वीकृति दिएको छ ।

स्वास्थ्य बीमा बोर्डको अस्थायी दरबन्दी स्वीकृत गर्ने, लोकसेवा तथा बढुवा समितिको सिफारिस बमोजिम विभिन्न सेवा समूहका राजपत्रांकित द्वितीय श्रेणीका अधिकारीहरूलाई सम्बन्धित सेवा समूहको राजपत्रांकित प्रथम श्रेणीको सहसचिव पदमा बढुवा, नियुक्ति तथा पदस्थापना गर्ने निर्णय पनि भएको छ ।

साथै, नेपाल विद्युत प्राधिकरणअन्तर्गतका प्रसारण लाइन तथा सवस्टेशन आयोजनाको लागि जग्गा प्राप्तिका लागि स्वीकृति दिने र विराटनगर खानेपानी आयोजना कार्यान्वयनमा गर्न जापान सरकारबाट आएको अनुदान स्वीकार गर्ने क्याविनेटको निर्णय छ ।

टिप्पणीहरू