भिजिट भिसामा जानेलाई नयाँ मापदण्ड
भिजिट भिसामा खाडी मुलुक गई अलपत्र बन्ने क्रम बढेपछि गृह मन्त्रालयले त्यससम्बन्धी नयाँ मापदण्ड बनाउने भएको छ । त्यसका लागि आवश्यक तयारी र अध्ययन गर्न गृहले मन्त्रालयका सह–सचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा समिति गठन गरेको छ ।
समितिलाई १५ दिनमा अध्ययन प्रतिवदेन बुझाउन भनिएको छ । समितिमा संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पराराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, नेपाल प्रहरी, अध्यागमन विभाग, वैदेशिक रोजगार प्रर्वद्धन बोर्डको प्रतिनिधित्व रहेको छ ।
भिजिट भिसामा जानेको वास्तविक स्थितिको विश्लेषण र त्यसबाट सिर्जित समस्याका विषयमा अध्ययन गरी कार्यान्वयनको ठोस योजना पेश गर्न गठित समितिलाई मापदण्ड बनाउने जिम्मा दिइएको छ ।
समितिलाई भिजिट भिसा उपलब्ध गराउन चाहिने मापदण्ड बनाउनेसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवागमन सहजीकरण, अध्यागमन प्रणालीमा सुधार, अन्तर्राष्ट्रिय उडान तालिकामा सुधार, ट्रान्जिट यात्रुको व्यवस्थापन, श्रमिक विदेशमा रहँदा भोगेका समस्या समाधानलगायत विषयमा सुझावसहितको प्रतिवेदन पेश गर्न क्षेत्राधिकार तोकिएको गृह मन्त्रालयले जनाएको छ ।
टिप्पणीहरू