एमालेमा त्यता पनि चल्यो अजंगको डोजर

एमालेमा त्यता पनि चल्यो अजंगको डोजर

एमाले केपी ओलीको ‘तजबिजी’ भएपछि उहाँका प्रियजनहरुले पनि आ–आफ्ना लाग्ने, पुग्ने ठाउँको ‘निजीकरण’ गर्न बाँकी राखेनन् । यस्तो हुँदा अहिले युवा संघमा विवाद चुलिएर केही नेता विद्रोहको तयारीमा छन् ।

‘संगठनलाई प्रालि त नबनाउनुस् न हौ…’ भन्ने आग्रहको युवा इञ्चार्ज महेश बस्नेतले ‘यो मेरो प्रालि नै हो । लु के गर्नुहुन्छ, गर्नुस्’ भन्ने जवाफ सुनेपछि ती युवाले बालकोटदेखि भएभरका पार्टी नेता गुहारिरहेका छन् ।

गत वैशाखको लकडाउनताका जुम बैठकबाट किरण पौडेललाई अध्यक्ष बनाउने प्रक्रियादेखिकै अहसमतिलाई पार्टीले व्यवस्थापन नगरेपछि अहिले एकथरि नेताले अधिकांशलाई कोरोना लाग्नेगरी आयोजक कमिटी गठन गर्न पोखरामा बोलाइएको बैठक नै बहिष्कार गरेका छन् ।

उपाध्यक्षहरु रोशन बस्नेत, अमित लामा, उर्मिला सुनुवार, रविन थापासहितका पदाधिकारी आयोजक कमिटी गठनको विधि र प्रक्रियामा प्रश्न उठाउँदाको फलस्वरुप पदमुक्त भए । संघको १३ सय ५१ सदस्यीय केन्द्रीय कमिटी, ४ सय १९ सदस्यीय सचिवालय थियो ।

तर, करिव दुई सयको उपस्थितिबीच भएको सचिवालय बैठकले त्यहाँ नपुगेका र गठन प्रक्रियामा असहमति राखेका २ सयलाई नेतृत्वबाट निकालिदियो । पोखरा बैठकले सचिवालयलाई आयोजक कमिटीमा रुपान्तरण ग¥यो । त्यसमा महाधिवेशन आयोजना गर्नका लागि उपसमिति बनाउने माग भयो ।

तर, मानिएन । पार्टी महाधिवेशनमा अध्यक्ष केपी ओलीले मञ्चबाटै प्यानल घोषणा गरेको शैलीमा महेश आफैँले विभिन्न क्लस्टर बनाएर केन्द्रीय सदस्यहरुको मनोनयन गरिएको सुनाए । त्यसपछि बैठक सकिएको घोषणा भयो । यसअघि नै रोशन बस्नेतसहितका असन्तुष्ट उपाध्यक्षहरुले बैठक बहिष्कार गरेका थिए ।

काठमाडौं फर्किएर उनीहरुले बैठकको सर्कुलर जारी नहोस् भनी अध्यक्ष केपी ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेलसहितका थुप्रै नेतासँग कुरा गरे । नेताहरुले सर्कुलर जारी नगर्न निर्देशन पनि दिएका हुन् । तर, सर्कुलरमात्र जारी भएन, सर्कुलर जारी नगरियोस् भन्नेहरुको पद ओली स्टाइलमा छानी छानी रिक्त राखियो ।

२०६९ सालको माघ अन्तिम साता बुटवलमा आयोजित राष्ट्रिय सम्मेलनपछि युवा संघको नेतृत्व छान्नका लागि कुनै भेला, सम्मेलन वा अधिवेशन भएको छैन । तर, यो ९ वर्षको बीचमा ९ जना अध्यक्ष फेरिए ।

बुटवलबाट निरज आचार्यलाई हराएर महेश बस्नेत अध्यक्ष भए । महेशले भक्तपुरबाट ०७० को चुनाव हारेपछि ०७१ सालमा उद्योगमन्त्री बनाइए । त्यसपछि बैठकबाटै निरु पाललाई अध्यक्ष घोषणा गरे । निरु पालपछि आयोजक कमिटीका नाममा ०७२ सालमा राजिव पहारीलाई अध्यक्ष बनाइयो ।

राजिवले ०७४ मा प्रदेशसभा सदस्यका रुपमा कास्कीबाट जितेपछि रमेश पौडेललाई बैठकबाटै अध्यक्ष बनाइयो । त्यसपछि पार्टी एकता हुँदा अध्यक्ष माओवादीको कोटामा परेपछि रामप्रसाद सापकोटा (दीपशिखा) अध्यक्ष भए । अदालतले माओवादी र एमाले अलग पारेपछि फेरि रमेश पौडेल नै अध्यक्ष हुन पुगे ।

त्यसपछि केही महिनाका लागि बचनबहादुर सिंह अध्यक्ष भए । उनी तिनै व्यक्ति हुन्, जो बुटवल राष्ट्रिय सम्मेलनमा दलित कोटामा सचिव जितेका सरोजदिलु बिकलाई घोक्रेठ्याक लगाएर जबरजस्ती सचिव बनाइएका थिए । रमेशलाई युवा संघबाट लखेटेपछि उनी अध्यक्ष बनाइए ।

फेरि गत वैशाखपछि कोभिड महामारीका कारण भएको लकडाउनमा जुम बैठकको आयोजना गरेर किरण पौडेललाई अध्यक्ष बनाइयो ।

महेशले चाहेका व्यक्तिबाहेक अरुलाई संघमा भित्रिन नदिने उनको योजना अहिलेसम्म पूरा हुँदै आएको छ । यदि रोशन बस्नेतहरुले महेशसामु आत्मसमर्पण नगर्ने हो भने पार्टीबाटै पत्तासाफ पारिदिने धम्की दिइएको छ । ‘हामी हेर्दैछौँ, यो पार्टी महेशजीको मात्रै हो कि हाम्रो पनि हो’, असन्तुष्ट एक उपाध्यक्षले जनआस्थालाई बताए ।

युवा संघ विवादका सिलसिलाभित्र ओली पक्षमा पनि महेशपक्षीय र उनीविरोधी खेमाको चर्को घम्साघम्सी देखिन्छ । अहिले जुमबाट अध्यक्ष बनाइएका किरण महेशका ‘आसपास खास’ हुन् । विद्रोह गरेका उपाध्यक्ष रोशन बस्नेत महेश उद्योग मन्त्री हुँदा स्वकीय सचिव थिए । भोजपुरका बासिन्दा उनी पर्शुराम बस्नेतसँग बढी निकट छन् ।

महेशले पर्शुरामकी कान्छी पत्नीलाई उनीबाट छुटाएपछि दुईबीचको तिक्तता चुलिएको छ । अर्का विद्रोही उपाध्यक्ष अमित लामा गोकुल बाँस्कोटाका प्रियपात्र हुन् । महेशको बाटो छेक्न गोकुल र गोकुलको बाटो छेक्न महेशको प्रतिस्पर्धामा अमितले आफूलाई गोकुलसँग उभ्याएका हुन् । उर्मिला सुनुवारचाहिँ निरु पालको अस्वभाविक विकासक्रमका कारण असन्तुष्ट थिइन् ।

युवा संघ जत्तिको त होइन, तर विवादले विद्यार्थी संगठन अखिलभित्र पनि विस्तारै ठूलो रुप लिँदै छ । त्यहाँ भुसको आगोझैँ विवाद दन्किरहेको छ । आरसी लामिछानेलाई अध्यक्ष बन्न मन लागेको छ, तर व्यक्त गर्न सकेका छैनन् । झापाली सुनिता बराल अध्यक्ष बनाइएपछि आरसी लामिछाने, रश्मीराज आचार्य, महेश बर्तौलाहरु एकजुट भएका छन् ।

तर, सुनिताविरुद्ध कराउँदा बालकोटबाट सेकिनुपर्ने खतराका कारण खुलेआम बोल्न सकिरहेका छैनन् । जबकि, सुनिता १० औँ महाधिवेशनबाट पार्टी केन्द्रीय सदस्य भइसकिन् । त्यसपछि अखिल अध्यक्ष छोड्नुपथ्र्यो । तर, छोड्न चाहिनन् ।

टिप्पणीहरू