अध्यक्षमा जितेर आफ्नैमाथि अचाक्ली
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा ठूला राजनीतिक पार्टीका नेताहरुमाथि कठोर टिप्पणी गरे । अध्यक्षमा निर्वाचित भएको महिना दिन नपुग्दै मुलुककै सबैभन्दा पुरानो पार्टीको महाधिवेशनमा शुभकामना दिन पुगेका उनले नेताहरु गाउँमा जाँदा जनताले चोर आयो भनेर लखेट्ने गरेको दाबी गरे ।
ठूला पार्टीका नेताहरूले जनतामा विश्वसनीयता गुमाएको अर्थमा लिङदेनले त्यसो भनेका थिए । तर, उनै लिङदेन पार्टी अध्यक्ष बनेको दुई महिना नबित्त्दै आफ्नै कोर टीमभित्र विश्वास गुमाउन थालेका छन् । पार्टीमा कमल थापाको एकलौटी हालीमुहालीबाट आजित भएका नेताहरुले विकल्पको रुपमा हेरेका लिङदेन उस्तै शैलीमा हिंड्न थालेपछि उनीविरुद्ध राप्रपामा मोर्चाबन्दी नै थालिएको बताइन्छ ।
जानकार स्रोतले बताएअनुसार पुस २० गते अध्यक्ष लिङदेनले केन्द्रीय सदस्य मनोनयनमा एकलौटी गरेपछि असन्तुष्टि थप चर्किएको हो । ३१ जना केन्द्रीय सदस्य मनोनयन गर्दा आफ्नै कोर टिमका नेताहरुसँग सामान्य सल्लाहसमेत नगरी उनले आफूखुशी गरेको असन्तुष्ट खेमाको आरोप छ । त्यसैले अहिले लिङदेनलाई अध्यक्ष बनाउन मरिमेटेर लागेकाहरु नै उनीविरुद्ध उभिन थालेका हुन् ।
केन्द्रीय सदस्य मनोनयन गर्दा बिना कुनै मापदण्ड आफूलाई मन परेकालाई टपक्क टिपेर ल्याएको लिङदेनमाथि आरोप छ । महाधिवेशनमा हारेकाहरुलाई मनोनित गरेकोमा लिङदेन प्यानलबाटै चुनाव जितेका उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री धवलसमशेर राणासमेत सन्तुष्ट नरहेको बताइन्छ । ३१ जना मनोनित गर्दा कतिपय पुराना नेताहरु भने परेका थिएनन् । तर,केन्द्रीय सदस्यमा हारेका मोहन श्रेष्ठ,दिनेश कार्की, उदय पोखरेललगायत मनोनित भएका थिए ।
‘हतारमा प्रतिक्रिया दिँदा यसले पार्टीलाई नै नोक्सान पुर्याउँछ भनेर अहिलेसम्म बाहिर नबोलेका हौँ’, राप्रपाका एक पाका नेताले भने, ‘उहाँको यस्तै कार्यशैली रहिरह्यो भने पार्टीमा ठूलो बिस्फोट हुन्छ ।’ यद्यपि अहिले आफूहरु ‘पर्ख र हेर’ को रणनीतिमा रहेको उनले सुनाए ।
लिङदेनका एकपछि अर्को अपरिपक्व निर्णयकै कारण बाह्य राजनीतिमासमेत पार्टीको प्रभाव घट्दै गएको असन्तुष्ट खेमाको बुझाइ छ । लिङदेनले ‘राजनीतिमा रिस्क लिनुपर्छ’ भनेर यस्ता निर्णय गर्ने गरेका कारण ओरालो यात्रा शुरु भएको ती नेताले दाबी गरे ।
‘अब केही दिनपछि अरु पदाधिकारी पनि मनोनित गर्ने कुरा छ । उहाँले सबैसँग सल्लाह गरेर निर्णय गर्छु भन्नुभएको छ । हेरौँ कसरी गर्नुहुन्छ । पहिलाजस्तै एकलौटी भयो भने चुपचाप बस्ने कुरा हुँदैन’,ती नेताले भने ।
कमल थापाको चासो सम्बोधन गर्न नचाहनुले पनि लिङदेन एकलौटी गर्ने दिशामा अघि बढेको संकेत दिइसकेको छ । कमल थापाको असन्तुष्टि अहिले पनि उस्तै छ । महाधिवेशनपछि उनले अहिलेसम्म पार्टी कार्यालयमा पाइलो टेकेका छैनन् । पूर्वराजाको योजनामा आफूलाई षड्यन्त्रपूर्वक हराइएको उनको दाबी रहँदै आएको छ । यसबारे छानविन गर्न थापाले पार्टीमा माग गरेका छन् । तर, लिङदेन भने छानविनका लागि त के त्यसबारे छलफल गर्नसमेत तयार नरहेको बताइन्छ ।
काँग्रेसको महाधिवेशनमा लिङ्गदेनले अनावश्यक हिरोइज्म देखाएर अन्य पार्टीहरुसंगको सम्बन्ध बिगारेको भन्नेहरु पनि छन् राप्रपामा । एजेण्डामा प्रतिष्पर्धा हुनु स्वभाविक भएपनि तल्लोस्तरमा झरेर संस्कारहीन राजनीति नगर्न अर्का एक नेताको लिङदेनलाई सुझाव छ । भने, ‘कमल थापा अध्यक्ष हुँदा पार्टीमा एकलौटी गरे पनि कम्युनिष्ट-काँग्रेसलाई चिड्याउने काम भने गरेका थिएनन्, यिनले त राजनीतिमा म मात्रै हुँ जस्तो गर्न थाले,यसरी त कहाँ हुन्छ !’
पछिल्लो समय निर्वाचन आयोगले राप्रपाको मर्ममाथि नै प्रहार गर्दासमेत लिङदेनले सार्थक प्रतिवाद गर्न नसकेको भन्नेहरु पनि उत्तिकै छन् ।
टिप्पणीहरू